काठमाडौँ, मङ्सिर २३ गते । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले जेठ २८ गतेदेखि भारतमा विद्युत् निर्यात सुरु गरेको थियो । 

प्राधिकरणका अनुसार मङ्सिर २० गतेसम्म एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारतमा बिक्री गरिएको हो । प्राधिकरणले प्रतियुनिट औषत आठ रुपियाँ ७७ पैसाको दरले विद्युत् निर्यात गरेको जनाएको छ । सो अवधिमा दैनिक अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात भएको प्राधिकरणले जानकारी दिएको छ । 

वर्षायाममा बढी भएको विद्युत् निर्यात हुने भए पनि सुक्खायामसँगै विद्युत् उत्पादन घट्न सुरु गरेपछि प्राधिकरण अब भने विद्युत् आयातको अवस्थामा पुगेको छ । 

जाडो बढ्दा आन्तरिक माग पनि बढ्ने र त्यसलाई पूर्ति गर्न केही विद्युत् आयात गर्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबारदेखि नै भारतबाट विद्युत् आयात सुरु गर्दै छ । योसँगै भारत निर्यात हुने विद्युत् पनि बन्द भएको छ । विद्युत् आयात भए पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई नेपाल खुद निर्यातकर्ता बन्न सक्ने प्रक्षेपण प्राधिकरणको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थोरै परिणाममा विद्युत् आयात सुरु गरिएको बताउनुभयो । विद्युत् आयात गर्दा पनि सकेसम्म सस्तो दरमा बिजुली ल्याउने गरी सोही समयका लागि आयात गरिने उहाँले बताउनुभयो । पिक समयमा आयात गर्दा विद्युत् महँगो पर्ने भएकोले दिउँसो र रातिको समयका लागि आयात गरिएको उहाँले जानकारी दिनुभयो । 

प्राधिकरणका अनुसार वैशाखको दोस्रो हप्ताबाट नेपालले पुनः विद्युत् निर्यात सुरु गर्ने छ । यस वर्ष करिब नौ सय मेगाावट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने भएकोले अर्को वर्ष ३० अर्ब रुपियाँसम्मको विद्युत् निर्यात हुन सक्ने घिसिङले जानकारी दिनुभयो । 

‘दुई देशबिचको प्रसारण सञ्जाल सुधारका लागि ठुलो क्षमताका लाइन बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । 

त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रूपमा करिब एक खर्ब रुपियाँको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ,” उहाँले भन्नुभयो ।