चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

काठमाडौँ, मङ्सिर २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । 

सो दिन फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “फोहोरको भाँडोमा सुन लुकाएर बाहिर ल्याउन संलग्न भएको देखिएपछि सरसफाइ सुपरभाइजर पाण्डेलाई नियन्त्रणमा लिइएको हो, छानबिन पूरा गरेर सबै सार्वजनिक गर्छौ ।” सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप-सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । 

सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोही प्रकरणमा विमानस्थलका सरसफाइ सहयोगी दुई जना गरी हालसम्म पाँच जना पक्राउ परेको प्रमुख भन्सार प्रशासक डा.पाण्डेले बताउनुभयो ।