जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस ४ गते । सुनसरीको कोशी गाउँपालिकामा शैक्षिक सुधारको सवालमा सरोकारबालाहरुका बीचमा संवाद कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकामा सामाजिक परिवर्तन केन्द्रले आयोजना गरेको शैक्षिक सुधार सवालको संवाद कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले विद्यालयहरुमा भौतिक पूर्वाधार तर्फ विभिन्न स्थानमा ३४ कोठाको भवन निर्माण र नीजि स्रोतका ३० जना शिक्षकको व्यवस्था गरेको बताउनुभयो । विद्यालयको माग र वडाबासीको आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकामा चार माध्यमिक विद्यालयबाट माविको संख्या आठ पुर्याएको, एउटामा कक्षा १२ सम्म र प्राविधिक धारको कक्षा सञ्चालन गरेको अंसारीले बताउनुभयो ।


अध्यक्ष अंसारीले विकासमा पहिलो प्राथमिकता नै शिक्षालाई दिएर काम गर्दै आएको बताउनुहुदै दरबन्दी नभएको विद्यालयमा दरबन्दीको व्यवस्था गरेको, शिक्षक र विषयगत शिक्षकको व्यवस्था मिलाएर शैक्षिक सुधारका लागि प्रयास गरेको बताउनुभयो ।
संवाद कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत समशेर राईले शिक्षा देश विकासको मेरुदण्ड भएकाले शैक्षिक सुधारको पक्षमा गाउँपालिका निरन्तर रुपमा लागी परेको बताउनुभयो ।
राष्टिय मावि लौकहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादवले शिक्षा सुधारको प्रयास भएपनि अझै माध्यमिक विद्यालयमा भवन, फर्निचर, सौचालय र मर्मत सम्भारको अभाव रहेको गुनासो गर्नुभयो ।
कोशी मावि पश्चिम कुशाहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादवले आफूहरुको विद्यालयमा बन्दै गरेको भवनको काम समयमा सम्पन्न गर्नुपर्ने, कक्षा ११ र १२ को शिक्षाका लागि कक्षा थप स्तोरोन्ती गर्नुपर्ने, स्रोत नभएको विद्यालयमा कर्मचारीको तलब सुविधा कटौती गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले विद्यालयमा आधारभुत आवश्यकता पुरा गरिदिए सुधार हुने बताउनुभयो । सोही कोशी माविका प्रधानाध्यापक नागेश्वर साहले विगतको भन्दै सुधार भएपनि अझै नयाँ भवन, केही विधार्थीका लागि खानेपानी, फर्निचर, थप दरबन्दीका शिक्षक, सौचालय र चालु खर्च वा मर्मत सम्भारको खर्चको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा राष्टिय मावि लौकहीका प्रधानाध्यापक विपिन साह, राष्टिय मावि सोभनपुरका प्रधानाध्यापक हरिकृष्ण राउत, राष्टिय मावि श्रीपुरका प्रधानाध्यापक जयप्रकाश यादव, सप्तकोशी माविका प्रधानाध्याक सहित ३० बढी सरोकाबरालाहरुको उपस्थिती रहेको थियो ।
सामाजिक परीवर्तन केन्द्रका स्थानीय सहजकर्ता जयकृष्ण यादवले सहजिकरण गर्नुभएको कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, शिक्षा शाखा प्रमुख देवराज अधिकारी, लोखा प्रमुख चोलाराज दंगाल, कोशी १ का वडा अध्यक्ष सोभितनारायण यादव, २ का वडा अध्यक्ष ध्यानी उराँव, ५ वडा अध्यक्ष साह जमाल र ५ का वडा अध्यक्ष जुपडलाल कोडोगिया सहित प्रधानाध्यापकहरु, विव्यस अध्यक्षहरु र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।