विधालय व्यवस्थापन समिति महासंघको जिल्ला सम्मेलन फागुन १२ गते हुने
इनरुवा, पुस २८ गते । सुनसरीका सामुदायिक विधालय व्यवस्थापन समितिहरुको छाता संस्था विधालय व्यवस्थापन समिति महासंघको सुनसरी जिल्ला सम्मेलन फागुन १२ गते हुने भएको छ । धरानमा महासंघका कोशी प्रदेश सचिव हरीबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको जिल्लाका स्थानीय महासंघका अध्यक्षहरुको बैठकले सबै सामुदायिक विद्यालयको हितमा हुने गरि महासंघ सुनसरीको जिल्ला सम्मेलन फागुन १२ गते गर्ने निर्णय गरेको हो ।



महासंघ गठन भएका सबै स्थानीय तहका अध्यक्ष तथा पदाधिकारीको बैठकले जिल्ला सम्मेलन फागुन १२ गते गर्ने निर्णय गरेको जनाएको छ । पहिलो जिल्ला सम्मेलन हुने भएकाले मुल आयोजक समिति कोशी प्रदेश महासंघ रहने छ भने जिल्ला सम्मेलन उपसमिति रुद्र बहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा विवेक राई र सचिवमा ओम गौतम रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा इनरुवा अध्यक्ष जयकृष्ण यादव, गढी अध्यक्ष शिवशंकर यादव, हरिनगर अध्यक्ष युवक मुखिया, रामधुनीका गंगाबहादुर राउत, कमला लिम्बु, कमला कार्की, बराहक्षेत्रका यादव गौतम रहनुभएको छ ।


बैठकमा सहभागि हुनुभएका महासंघका केन्द्रिय सचिव काशीनाथ दंगालले सामुदायिक विद्यालयलाई साच्चैको विद्यालय जस्तो र शैक्षिक गुणस्तर भएको विद्यालय बनाउन महासंघको भुमिका रहने बताउनुभयो । बैठकमा जुग्नु उराँव, हरिहर प्यारा श्रेष्ठ, दिपा श्रेष्ठ , पब्लिक हाई स्कूलका प्रधानाध्यापक इन्द्रमोहन झा, चपडाही आधारभुत विद्यालयका प्रअ अरुण साह सोनारको समेत उपस्थिती रहेको थियो ।
