पाठकीय दृष्टिकोण :विमला पोख्रेल

कथाकार बोधकुमार घिमिरेको बलिदानका कथाहरू मूल शीर्षक राखेर रचना गरिएको कथा सङ्ग्रह पुस्तकभित्र
क्रमशः ‘अधुरो चाहना,अन्तिम दृश्य ,आस्थाको अवसान ,उदयचन्द्रको रथ,दलमुखी,प्रतिज्ञा ,पल्लो घरको बत्ती ,पश्चाताप,भिडियो कल,सेतो लुगा ,हराएको लेखक’समेत विभिन्न विषय एवम् सन्दर्भका ११ वटा कथाहरूको सङ्ग्रह मैले आद्योपान्त अध्ययन गर्ने सुअवसर प्राप्त गरेँ।समग्र कथाहरूलाई अध्ययन गरेर पनि केही मनका भाव नपोख्दा मभित्र रहेको ‘म’ सजीव नरहने भएकोले आफ्नो मनका भाव छोटो शब्दमा पाठकवर्ग सामू पस्कने क्रममा पाठकीय दृष्टिकोण उजागर गरेकी छु।
वास्तवमा कथाकार घिमिरेको ‘बलिदानका कथाहरू ‘ कथा सङ्ग्रहको प्रत्येक ११ वटा कथाको मूल मर्म र भावमा राजनीतिक पीडा तथा क्रन्दनको गाम्भीर्यता पाइन्छ ।हरेक कथामा बलिदानको कहानी लुकेको पाइन्छ ।कथाको पहिलो शीर्षक ‘अधुरो चाहना ‘मा हाम्रो राष्ट्रमा चर्किएको जनयुद्धको समयमा
नेपाल सरकार तथा विद्रोहीहरू बीच भएको ज्यादती
,विसंगति तथा नेपाली चेली जमुनाजस्ताको दुःखद निधन र राष्ट्रको अपुरणीय क्षतिजस्ता यथार्थतामा आधारित चित्रण गरिएको पाइन्छ ।त्यसैगरी दोस्रो ‘अन्तिम दृश्य ‘ शीर्षकभित्र राणाकालीन समयमा मुलुकमा भएको ज्यादती ,ठूलाबडा हूँ भन्ने शोषक सामन्तले निर्धा निमूखाप्रति गरेको विभेद दुर्व्यवहार ,२०४६ सालमा बहुदलीय शासन व्यवस्था लागु भएपछि शोषक सामन्तको बोलबाला भई निर्दोष व्यक्तिको गरिएको हत्या समेत कथामा प्रस्तुत गरिएको छ।यसैमा अन्त्यमा रातेमान र माहिला तामाङ बीच गोली हानाहान भएको बीभत्स हत्या तथा दुःखद अवस्थाको चित्रण गरिएको पाइन्छ ।
त्यसैगरी ‘आस्थाको अवसान ‘शीर्षकमा पनि माओवादी जनयुद्धको अनुसरण गरि क्रमशः दाङ सिन्धुलीको प्रहरी चौकी माथि भएको आक्रमण तथा प्रहरी र विद्रोही बीच भएको भिडन्त ,रोल्पा रूकुम आदि स्थानमा भएको जनयुद्ध भिडन्तमा ब्राम्हण परिवारको
अमूक पात्र पतिपत्नी ,गोलीका छर्राहरू लागि भएका समस्त घाइते ,युद्ध विराम हुँदा सरकारका तर्फबाट दिइएको रकम पनि टाठाबाँठाले खोसेर लगेको अवस्थाको बारेमा कथामा उल्लेख गरिएको छ।त्यसैगरी त्यहीँ युद्धको रापताप ,गरिबी अवस्था सहन गर्न नसकी
घरका सबै परिवार आफ्नो घरभित्र डोरीको पासो लगाई
घरको बाबुआमा ,छोराबुहारी समेतले आत्महत्या गर्नु परेको भयानक दुःखद अवस्थाको चित्रण यस कथामा छ।त्यसैगरी अर्को ‘उदयचन्द्रको रथ’शीर्षकमा स्त्री लम्पट सौखिन राजा उदयचन्द्रले अरू धेरै रानीहरू हुँदा हुँदै तल्लो सार्की जातको ‘केउवती’ नामको युवती रूपमा असाध्य राम्री भएकाले म तिमीलाई रानीको दर्जा दिई राख्छु भनी झुठ्ठा आश्वासन दिएर पत्नी तुल्याई रिस्कु र तावा खोलाको बीचमा भएको टारमा ठूलो दरबार (घर) बनाई राखेको तर राज्यमा छुवाछूतको सामाजिक विद्रोह हुन्छ भन्ने डरले रानीको दर्जामा नराखेको उल्लेख गरिएको छ।
त्यसैगरी उक्त युवती रखौटीको रूपमा मात्र राखेको अवस्था रात्रिमा सुती निदाएको अवस्था पारी आँगनमा भएको मकै राख्ने थाङ्ग्रोमा डोरीको पासो घाँटीमा लगाएर केउवती रानी परलोक भएकीमा पछि राजाले थाहा पाएर घोडामा चढेर भागी वेपत्ता भएकोमा कालान्तरपछि केउवती रानी न्याउली भएकी र राजा उदयचन्द्र हाप्सीलो भएको भन्ने कुराको कथामा चर्चा गरिएको छ।कथामा पूर्णिमा तथा ओैँसीको रातमा केउरेनी देखि बाँझा गाउँसम्म सेतो घोडाले रथ तानी राजा उदयचन्द्र रथमा सवारी भई हिड्ने गर्दछन् भन्ने जनविश्वास तथा किंवदन्ती यो कथामा पाइन्छ ।
यसैक्रमले अरू कथा ‘दलमुखी,प्रतिज्ञा ,पल्लो घरको बत्ती ,पश्चाताप,भिडियो कल,सेतो लुगा,हराएको लेखक ‘समेतका शीर्षकका कथाहरूमा समग्र रूपमा अध्ययन गरेर मैले व्यक्त गर्नुपर्दा यसमा हामीले भोगेको समाज,राजनीतिक जीवन पद्धति र मानवीय चरित्रका विविध पक्षहरू उजागर गरिएको पाइन्छ ।कथाकारको समग्र कथा कृतिलाई अध्ययन गरी मैले यथार्थता व्यक्त गर्नुपर्दा बोधकुमार घिमिरे समाजको सचेतक ,राजनीतिक सचेतक ,स्वच्छ विचारधाराबाट प्रेरित एवम् जीवन र जगतप्रति आफ्नो स्पष्ट विचार तर्क प्रस्तुत गर्न सक्ने प्रगतिवादी ज्वलन्त स्रष्टा हुन्।उनका सम्पूर्ण कथाहरूमा दु:खान्त चेतनाको सबल उपस्थिति भएको मलाई महसुस भएको छ।
यसमा सङ्घर्ष र बलिदानका कथाहरूको विशिष्ट चिनारी प्रस्तुत गरिएको छ ।जो पात्रहरूले मृत्युमा पुगेर विश्राम लिएका छन् ।यसका केही कथामा किंवदन्ती मुलक लोक जीवन ,स्थानीय पहिचान र ऐतिहासिक घटनाको समेत प्रभाव पाइन्छ ।यस कथा आफैंमा पूर्ण छ।कथामा कमरेड विशाल ,रातेमान,माहिला तामाङ आदिका माध्यमबाट तत्कालीन जनयुद्धको यथार्थताको उद्घाटन गरिएको पाइन्छ ।समग्र कथा अध्ययन गर्दा सङ्घर्ष चाहे सत्ता पक्षबाट गरिएको होस् वा चाहे अर्को पक्षबाट होस् यसमा मानवीय क्षति चाहिँ युगौयुगका लागि भएको अपुरणीय क्षति हो ।सशक्त विचार र यथार्थ सन्दर्भको आख्यानी करण गरी सुन्दर कथा सङ्ग्रह प्रदान गरेका कथाकार बोधकुमार घिमिरेलाई सहर्ष बधाई ज्ञापन गर्दछु।आगामी दिनमा कालजयी सिर्जनशीलता हेर्न र पाठकीय दृष्टिकोण पस्किन पाउने अभिलाषा सहित लेखनी थाम्दछु।