जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २८ गते । सुनसरी सदरमुकाम इनरुवामा थारु कल्याणकारीणी सभा इनरुवाको आयोजनामा तिला संक्राइत तथा माघी महोत्सव सुरु भएको छ । सभाको आयोजानमा सनिबार तिला संक्राइत तथा माघी महोत्सव २०८० सुरु भएको सभाले जनाएको छ । महोत्सवको उद्घाटन नेपाली काग्रेंसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्नुभएको छ । गच्छदारले आफ्नो संस्कृति संस्कार जोगाउनका लागि थारुहरुले आफ्नै घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।

उहाँले महोत्सवमा मात्रै थारुको संस्कृतिमा सिमित नराखी सबैले सधै आफ्नो बालबालिकाहरु र आफ्नो लागि भएपनि थारुको असल संस्कारलाई अगांल्नुपर्नेमा जोड दिनुभयो । महोत्सवमा करिब तीन हजार जनाले अवलोकन गरेको आयोजकको दावी छ ।
सनिबार महोत्सव आयोजना गरिएको सभाका इनरुवा अध्यक्ष विनोद चौधरीले बताउनुभयो । थारु संस्कार तथा संस्कृतिको संरक्षण एवं पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा थारु संस्कार संस्कृति, पहिचान झल्किने भेषभुषा तथा थारु परिकार सहित कृषि औजारहरु र हस्तकलाका सामानको स्टलमा प्रदर्शन गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा सुनसरी र मोरग सहित पूर्वी लोकभाका जत्ताजत्तिको प्रस्तुती समेत गरिएको थियो ।


महोत्सवमा थारु परिकार घोंघी, भक्का, तिलको लड्डु, भुजा, सिपी, सुंगुर तथा बंगुरको मासु, कुखुरा तथा परेको मासु, भुजा, बगिया, रोटी लगायतका परिकारहरु राखिएका थिए । त्यस्तै थारुको पहिचान झल्किने पौराणिक पोष्टर तथा मूर्तिहरुको पनि प्रदर्शन गरिएको थियो । महोत्सवले थारु संस्कार संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको सभाका पूर्व केन्द्रिय अध्यक्ष नगेन्द्र चौधरीले बताउनुभयो ।
महोत्सवको उदघाटन कार्यक्रममा संविधान सभा सदस्य सिताराम मेहता, इनरुवाका प्रमुख केदार भण्डारी, उपमेयर विनिता मेहता, वडा अध्यक्ष अनिल पोखरेल लगायतले थारु संस्कृति तथा थारु अधिकार र पहिचानका बारेमा धारणा राख्नुभएको सभाका रोहित चौधरीले जानकारी दिनुभयो । थारु संस्कृति समृद्धिको पहिचान, माघी महोत्सव एक अभियान नारासहित शुरुभएको कार्यक्रममा विभिन्न थारु नृत्य तथा झाँकीहरुको पनि प्रस्तुती रहेको थियो ।


१, सुनसरी सदरमुकाम इनरुवामा थारु कल्याणकारीणी सभा इनरुवाको आयोजनामा तिला संक्राइत तथा माघी महोत्सवमा थारु सांस्कृतिक नृत्य प्रस्तुत गर्दै
तस्विर ः जयकृष्ण यादव । इनरुवा