सुरेन्द्र मेहता । इनरुवा
सुनसरी सदरमुकाम इनरुवा सहित देशैभरी माघे संक्रान्ती मनाउनुको साथै हिन्दु स्वयम सेवक संघ नेपालले खिचडी कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरुको महानपर्व मकर संक्रान्तिको पावन अवसरमा खिचडी कार्यक्रम सम्पन्न गरेको हो । सुनसरीको इनरुवा स्थित हिन्दु स्वयमसेवक संघ नेपाल इनरुवा १ नम्बर वडा समितिको आयोजनामा हर्सोल्लासका साथ खिचडी कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा संघका संचालक मनोजकुमार यादव, श्रवण यादव, राजकुमार मेहता र दिलिपचन्द साहु सहितले तिला संक्रान्ती, खिचडी पर्व तथा खिचडी कार्यक्रमको औचित्यका बारेमा बोल्नुभएको थियो ।

आज माघ १ गते अर्थात मकर संक्रान्ती । देशैभरी विभिन्न समुदायले विभिन्न ढंगले मनाउने गर्दछन् । मधेसमा पनि यसको बेग्लै विशेषता छ । मधेसी समुदायहरूबीच तिलको लड्डु यो पर्वमा लोकप्रिय रहेको छ । आज दही, चिउरा, तिलको लड्डुसहित मिठो परिकार बनाएर खाने चलन छ । आजको दिन खिचडी खाने पनि परम्परा छ । बिहानै नुहाइधुवाई गरी चोखो भई सर्वप्रथम तिल र चामल छोइ पितृहरूका लागि निकाल्ने गरिन्छ ।
यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । तिल, चिउरा, मुरही, जनेरा, मोमफलीलगायत विभिन्न किसिमका लड्डु बनाइन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका कुल देवतालाई चढाइन्छ । देवीदेवतालाई चढाएर मात्र खाने चलन रहेको छ । जाडो मौसममा यो पर्व पर्ने गर्दछ ।

यस पर्वमा खाने परिकारले शरीरलाई न्यानो राख्छ । यस्ता खाने कुराहरू स्वास्थ्यको हिसाबले पनि लाभदायक मानिन्छ । आजको दिन सूर्य उत्तरायणमा प्रवेश गर्ने हुँदा दिन लामो र रात छोटो हुँदै जान्छ । तरुल (अलेवा)लाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । तरुल खेती गर्ने किसानलाई यति बेला भ्याइ न भ्याइ छ । यसैगरी मधेसवासीले माघ १ लाई नहाए अर्थात नुहाउने पर्वका रूपमा मनाउने गर्दछन् । सबैले आजको दिन अनिवार्य रूपमा नुहाउने गर्दछन् । बच्चादेखि, युवा वृद्धवृद्धा पनि नुहाउने गर्दछन् । विभिन्न धार्मिक स्थल, नदी, जलाशय र कुण्डहरूमा दर्शन र स्नानगर्ने भक्तजनहरूको भिड लाग्ने गर्दछ ।
त्यसैगरी आज दाजुुभाइले आफ्ना दिदीबहिनीको घरमा कोसेली (सनेश) लिएर जाने परम्परा छ । कोसेलीको रूपमा तिल, चिउरा र कपडा लैजाने परम्परा छ । आजकै दिन दिदीबहिनीहरू आफ्नो माइतबाट कोसेली आउँला भनि बाटो हेरी बस्छन् ।
यसै क्रममा तिल र चिउरा पसलमा ग्राहकको अत्यधिक भिड लागेको छ । आर्थिक मन्दीले गुज्रिरहेका व्यपारीहरूका लागि आर्थिक दृष्टिकोणले पनि यो पर्व लाभदायक मानिन्छ । व्यापारी पनि तिल र चिउराको बिक्री राम्रो भएपछि उत्साहित छन् । तिलको मूल्य बढ्दा उपभोक्ताहरू भने महँगीको मारमा छन् । महँगो भए पनि खरिद गर्न बाध्य छन् ।
आजको दिन घरघरमा मिठो खिचडी पकाइ खाने गरिन्छ । घ्यूमा पकाएको खिचडी घरपरिवारका सबै सदस्यहरू खाने गर्दछन् । धेरैजसोले बिहान खिचडी खाने र बेलुका दही, चिउरा, तिलको लड्डुु खाने गर्दछन् । माघे संक्रान्ती पर्वलाई थारू समुदाय विशेष महत्वका साथ मनाउने गर्दछन् । त्यसैले थारू समुदायको माघीपर्वका दिन भएकाले स्थानीय सरकारले बिदा दिएको छ । संघीय सरकारले पनि आजको दिन सार्वजनिक बिदा दिँदै आएको छ ।