विजयकुमार साह 

ढल्केवर, माघ ११ गते। मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ। प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि मतदान भएको छ। जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको छ। 

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतका अनुसार मधेश प्रदेशमा १०७ जना प्रदेश सभा सदस्य र २६७ जना पालिका प्रमुख, उपप्रमुख गरेर ३७४ जना मतदाता छन्। जसमध्ये स्थानीय तहका तर्फबाट शतप्रतिशत मतदान भएको छ भने प्रदेशसभा सदस्यका तर्फबाट एक जनाको मात्र मतदान केन्द्रमा उपस्थित नभएको बताउनुभयो। 

मतदानस्थलमा दुई वटा मतदान केन्द्र कायम गरिएको थियो। प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख, उपप्रमुखका लागि रातो रङ्गको मतपत्रको व्यवस्था गरिएको थियो। 

प्रदेशमा रिक्त दुई सदस्यमध्ये एकमा सत्ता गठबन्धनका आनन्द ढुङ्गाना, नेकपा (एमाले) का विजेता र जनमत पार्टीका रामाशङ्कर महासेठ उम्मेदवार हुनुहुन्छ। अर्का एक सदस्यमा महिलातर्फ सत्ता गठबन्धनका पूजा चौधरी र एमालेका उषादेवी थरुनीको उम्मेदवारी परेको छ। 

प्रदेशका विभिन्न पालिका गरी पाँच प्रतिनिधि कारबाहीमा परेका कारण तिनीको मतदाता नामावलीमा समावेश नगरिएको सूचना अधिकारी राउतले जानकारी दिनुभयो। उहाँका अनुसार मतगणना केही बेरमै सुरु गरिनेछ।