सामीको प्रहरीसंग अन्तरकृया कार्यक्रम
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १८ गते । सुनसरीमा सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयका प्रहरीसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । सामी कार्यक्रमले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउने काम गर्दै आएकाले त्यसमा प्रहरीको समेत भुमिका रहने भएकाले प्रहरीसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको हो । सामीका कार्यक्रम संयोजक धिरज भट्टराईका अनुसनर नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना नेपालमा सन २०११ देखी संचालनमा आइरहेकोमा अहिले तेस्रो चरणको कार्यक्रम गलिरहेको छ । देशको संघीय संरचना अनुरूप स्थानीय सरकारहरू मार्फत कार्यान्वयन हुने गरी कार्यक्रम संचालन भइरहेको भट्टराईले जानकारी दिनुभयो ।
सामीका प्रदेश कार्यक्रम अधिकृत डिएन चौधरीले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको यो कार्यक्रम विभिन्न जिल्लाका १५६ स्थानीय तहहरुमा सञ्चालित रहेको बताउनुभयो । चौधरीका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यसका कार्यक्रमहरू सञ्चालनमा रहेको छ । हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको चौधरीको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष एवम् इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने , गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप,परामर्श लगायतका सहयोग प्रदान गर्ने र वैदेशिक रोजगारमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफल बृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम भईरहेकोमा सामीको योगदान रहेको बताउनुभयो ।
त्यसैगरी इनरुवाका प्रमुख प्रशासकिय अधिकृत अगनी प्रसाद अधिकरीले सामी कार्यक्रमका लक्षित वर्गमा वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, बैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारबाट फर्केका कामदार र वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरु रहेको बताउनुभयो । उहाँले कार्यक्रमले नगरमा पनि सार्थक योगदान गरेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सामीको मुख्य कार्यहरू र प्रशासनले गर्दै आएको कामका बारेमा जानकारी दिनुहुदै प्रहरीलाई बैदेशिक रोजगारका मुद्धाहरु, सवालहरुमा गम्भिर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले र सामीले सूचनामा पहुँच अन्तरगत सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सूचना उपलब्ध गराउने, आवश्यकता अनुसार परामर्श प्रदान गर्ने गरेको बताउनुभयो ।
कार्यक्रम संयोजक भट्टराईका अनुसार सीपमा पहुँचका लागि खाना तथा आवास सहितको निःशुल्क सीप तालिमहरूबारे जानकारी दिने, सीपको महत्व तथा आवश्यकताबारे बताउने साथै सीपका लागि सिफारिश गर्ने र न्यायमा पहुँच तथा मनोसामाजिक परामर्शको काम गर्दै आएको छ । उता जिल्ला प्रशासन कार्यालय सुनसरीको हाताभित्र आप्रवासी स्रोतकेन्द्र मार्फत सूचना तथा परामर्श, सीप र न्याय सम्वन्धी कार्य गरिरहेको जनाएको छ ।
भट्टराईले वैदेशिक रोजगारीका विभिन्न चरणमा समस्यामा परेकाहरूलाई न्यायको पहुँचमा पु¥याउने, ठगी, विदेशमा अलपत्र, विदेशमा मृत्यु भएकाको शव ल्याउने, आर्थिक सहायताको लागि सहजीकरण गरिदिने काम गर्दै आएकोमा त्यसमा प्रहरीको समेत भुमिका र समन्वयन आवश्यक भएकाले प्रहरीसंग अन्तरकृया कार्यक्रम गरिएको जानकारी दिनुभयो ।




१, जिल्ला प्रहरी कार्यालय सुनसरीमा सामीको प्रहरीसंग अन्तरकृया कार्यक्रमका सहभागी तथा अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
