जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ २९ गते । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा सबारी चेकजाँचको क्रममा ठूलो परिमाणमा नक्कली नेपाली नोट सहित एक भारतीय नागरिक पक्राउ परेको छ । ट्राफिक प्रहरीले पूर्वपश्चिम लोकमार्गमा सबारी चेकजाँचको क्रममा सुनसरी खोला पुल नजिकै सेतो रंगको बीआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोबाट ठूलो परिमाणमा नक्कली नेपाली नोट सहित भारतको विहार राज्य सुपौल जिल्ला थाना बिरपुर निवासी भारतीय नागरिक छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्याग भित्र सेतो बोरामा राखिएको रु १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोटको कुल एक करोड ८२ लाख ५१ हजार रुपियाँ बरामद गरेको जनाएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामत भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक वीपीन रेग्मीले ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा शंका लागेर पछाडीको डीक्कीमा राखिएको अवस्थामा बरामद गरेको जानकारी दिनुभयो । पक्राउ गरेका साफी माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसंधान भईरहेको जानकारी दिनुभयो ।

प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक नबीनकृष्ण भण्डारीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धी कसुरमा १० वर्षसम्म कैद र पचास हजार रुपियाँदेखी एक लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।


१, जिल्ला प्रहरी कार्यालय सुनसरीमा सार्वजनिक गरेको मुद्रा सम्बन्धी कसुर गर्ने जिल्ला थाना बिरपुर निवासी भारतीय नागरिक छोटु भन्ने महम्मद शैयाद साफी र नक्कली नोट तथा सवारी ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा