इनरुवा, फागुन ४ गते । भारतामा मे महिनामा हुने लोक सभा चुनाव र खुल्ला सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरुले समन्वय गर्ने भएको छ । विहीबार भारतको विहार राज्य स्थित सुपौलको विरपुरमा भएको नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले सीमा सुरक्षा, निर्वाचनको बेलामा सीमा सिल गर्ने लगायतको विषयमा छलफल भएको छ ।


भारतको विहार राज्यको सुपौल जिल्लाको बिरपुरको कौशीकी भवनमा सम्पन्न भएको बैठकमा अन्तरदेशीय सीमा अपराध नियन्त्रण, नक्कली रुपियाँको घटनाका बारेमा अनुसंधानमा सहयोग र अवैध लागु औषध ओसारपसार तथा सीमा सुरक्षामा ध्यान दिने र मदिरा नियन्त्रण सम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायम लगायत विषयमा दुवै पक्षबीच समन्वय गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । प्रजिअ आचार्यका अनुसार भारतमा हुन लागेको लोक सभा निर्वाचन र राष्टिय सभा निर्वाचनका बेला सीमा क्षेत्रमा मदिरा उत्पादन तथा विक्रि वितरणमा रोक लगाउन, अवैध कारोबार रोक्न, अपराधीक गतिविधिमा निरागनी बढाउन भारतीय पक्षले आग्रह गरेको र आफूहरुले आलै बरामत भएको नक्कली रुपियाँ र त्यसमा संलग्न भारतीय नागरिक भएको घटनाका बारेमा थप अनुसंधानमा सहयोग गर्न र अवैध लागु औषध ओसारपसार रोक्न तथा सीमा सुरक्षामा ध्यान दिन र त्यसलाई नियन्त्रण गर्न सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायम लगायत विषयमा आग्रह गरेको थियो । त्यसैगरी कोशी ब्यारेजमा हुने दुर्घटना र पुल मर्मतका विषयमा पनि ध्यानाकर्षण गराएको जनाएको छ । व्यारेज पुल भारतको विहार जलसंधान विभागले मर्मता सम्भार गर्ने भएकाले समयमा नै त्यसमा ध्यान आग्रह गरिएको बैठक स्रोतले जनाएको छ । सबै सवालमा दुवै सुरक्षाअधिकारी बीच समन्वय गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।
नेपालका तर्फबाट सुनसरीका प्रजिअ आचार्य सहित, प्रहरी उपरीक्षक वीपीन रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक लकेश तुम्बाहापे सहित सुरक्षा प्रतिनिधि र भारतका तर्फबाट डीएम कौशल कुमार सहित भारतीय सीमा सुरक्षा बलका कमाण्डर, भारतीय प्रहरीका प्रतिनिधि तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसअघि बसेको समन्वय समितिको बैठकले नियमित रुपमा हरेक तीन–तीन महिनामा बैठक बस्ने निर्णय भएको थियो । बैठकमा सीमा क्षेत्रबाट हुने गरेको लागु औषधको ओसार पसार नियन्त्रणमा थप कडाइ गर्ने, सीमा क्षेत्रबाट हुने गरेका अन्य आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण गर्ने, सिमानामा दुवै देशका सुरक्षा गस्ती बढाउने निर्णय भएको छ ।
१, भारतको विहार राज्य स्थित सुपौलको विरपुरमा भएको नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठकमा नेपाली तथा भारतीय अधिकारीहरु छलफल गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा