जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १२ गते । संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवले सबै नागरिकलाई स्वास्थ्य राख्न स्वच्छ खानेपानीको व्यवस्था मिलाउनु राज्यको दायित्व भएको बताउनुभएको छ । सुनसरीको इनरुवामा सनिबार नेपाल समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री यादवले नागरिकलाई स्वास्थ्यमा असर पार्ने मध्ये एक कारण पानी समेत रहेकाले स्वच्छ खानेपानीको सबै क्षेत्रमा व्यवस्था मिलाउन स्रोतसाधनले भ्याएसम्म काम गरिहेको बताउनुभयो । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका मन्त्री यादवले मौलिक हकमै नागरिकको स्वास्थ्य अधिकारको ग्यारेण्टी गरेकाले स्वास्थ्य राख्नका लागि स्वच्छ खानेपानी उपल्बध गराउनु राज्यको दायित्व भएको बताउनुभयो ।
उहाँले आफू मन्त्री भएपछि खानेपानीका लागि काम गर्ने पहल र प्रयास जारी राखेको जिकिर गर्नुभयो । फरक प्रसंगमा मन्त्री यादवले चुरे तथा तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको बताउनुभयो ।


पार्टीका नेताकार्यकर्ताहरुले सुनसरीमा समेत खानेपानीका योजना ज्याउन गरेको आग्रहमा मन्त्री यादवले भएको संरचनाहरुलाई सुचारु गर्ने, खानेपानीको पहचु नभएको क्षेत्रमा प्रयास गर्ने र समग्र खानेपानीको समस्या समाधानका लागि सरकार र विभिन्न मन्त्रालयसँग छलफल गरिरहेको बताउनुभयो ।
मन्त्री यादवले सुनसरी सहित देशभरी नै दीर्घकालीन रुपमा खानेपानी समस्या समाधानका लागि अधुरा खानेपानी ट्याङ्कहरु निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गरिरहेको बताउनुभयो ।
यसैबीच विभिन्न पार्टी त्यागेर नेपाल समाजवादी पार्टीमा प्रवेश गरेकहरुलाई यादवले अबिर लगाएर स्वागत गर्नुभएको थियो । जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले सहितका पार्टी त्यागेर २२ जना नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा पार्टीका नेता सुरेन्द्र कटुवाल, नरेन्द्र बस्नेत, कोशी प्रदेश संयोजक सम्भु चौधरी सहितका नेताहरुको उपस्थिती रहेको थियो ।


१, सुनसरीको इनरुवामा आयोजना गरेको नेपाल समाजवादी पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादव सहितका नेताहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा