काठमाडौँ, साउन १३ गते । कृषिमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने कार्यक्रम सञ्चालनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १० अर्ब रुपियाँ पाएको छ । यो चालू आर्थिक वर्षको नियमित बजेटबाहेकको रकम भएको मन्त्रालयले जनाएको छ । 

तीनदेखि पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुने लक्ष्यसहित कृषि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यिनै कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालयले यस पटक आत्मनिर्भर शीर्षकमै १० अर्ब रुपियाँ दिएको हो । 

चालू आर्थिक वर्षको बजेटमा कतै उल्लेख नभएको यो शीर्षकमा रातो किताबमा भने रकम छुट्टिएर आएको कृषि मन्त्रालयले जनाएको छ ।  यो शीर्षकको बजेट आएपछि कृषि मन्त्रालयमा त्यसलाई कसरी खर्च गर्ने, कुनकुन शीर्षकमा खर्च गर्ने भन्नेबारे छलफल सुरु भएको छ । कृषि मन्त्रालयका सहसचिव राजेन्द्र मिश्रले भन्नुभयो, “उत्पादन एवं आत्मनिर्भरताका लागि यसअघि खुद्रामा काम भइरहेको थियो । अब यो बजेटले एकमुष्ट र देखिने गरी काम हुन्छ र यसले उत्पादनमा वृद्धि गरी आत्मनिर्भर हुन सहयोग पुग्ने विश्वास लिएका छौँ ।” 

उत्पादन वृद्धि र आत्मनिर्भरताका क्षेत्रमा काम गर्ने मुख्य निकाय कृषि विभाग र पशुसेवा विभाग हुन् । ती दुवै निकायलाई अध्ययन गरेर प्रतिवेदन बनाउन भनिएको र प्रतिवेदन आएपछि काम अगाडि बढ्ने सहसचिवव मिश्रले बताउनुभयो । 

“यो बजेट सङ्घको कृषि मन्त्रालयले मात्रै खर्च गर्न सक्दैन, त्यसको त्यस्तो संयन्त्र नै छैन । अर्थ मन्त्रालयले यस्तै बजेट प्रदेश सरकारलाई पनि दिएको छ, त्यसमा थप गरेर प्रदेशमार्फत स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिनेछ,” उहाँले भन्नुभयो । यो कार्यक्रम स्थानीय तहबाट नै सञ्चालन गर्नेबारे सल्लाह भइरहेको उहाँले जानकारी दिनुभयो ।

कृषि मन्त्रालयले आत्मनिर्भरताका लागि गर्नुपर्ने काम र वस्तुको छनोटलगायतका विषयमा कार्यविधि बनाउने जानकारी दिनुहुँदै सहसचिव मिश्रले भन्नुभयो, “यो आर्थिक वर्षमा कृषिका सबै वस्तुमा हात हाल्न सकिँदैन । कुन वस्तुको आयात बढी हुन्छ, केमा बढी लगानी गर्दा उत्पादन हुन्छजस्ता विषयमा अध्ययन गरी केही वस्तु छनोट गरी त्यसैमा लगानी गरिनेछ ।”