जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार २० गते । सुनसरीको इनरुवा नगरपालिकाले किसानलाई विषादी छर्ने स्प्रे ट्याङ्की अनुदानमा वितरण गरेको छ । खाद्यान्न, तरकारी, फलफूल बालीमा विषादी, मल लगायत सुक्ष्मतत्व छर्न प्रयोग हुने १६ लिटर क्षमताको स्प्रे ट्याङ्की वितरण गरेको हो । नगरपालिकाको ५० प्रतिशत अनुदान रहेको स्प्रे ट्याङ्की लिन किसानको ५० प्रतिशत रकम तिरेका छन् ।
नगरपालिकाको १० वटै वडाका किसानलाई स्प्रे ट्याङ्की वितरण गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा ७५ जना किसानलाई स्प्रे ट्याङ्की वितरण गरेको जनाएको छ । नगरपालिकाले सुचना प्रकासन गरी स्प्रे ट्याङ्की लिन चाहने किसानको आवेदन संकलन गरेको थियो भने सोही अवधिमा आवेदन दिएका मध्येलाई स्प्रे ट्याङ्की वितरण गरिएको नगरपालिकाका प्रमुख केदार भण्डारीले जनकारी दिनुभयो ।


किसानको खेतबारीमा लगाइएको बालीनालीमा लाग्ने हानिकारक रोग किराको नियन्त्रण गर्न तथा सूक्ष्मतत्त्व राम्रोसँग छरी उत्पादन बढाउन किसानलाई स्प्रे ट्याङ्की वितरण गरिएको उहाँले बताउनुभयो ।
आवेदन दिएर माग गरेका सबै किसानलाई क्रमशः स्प्रे ट्याङ्की उपलब्ध गराईने जानकारी दिनुभएको छ । इनरुवा नगरपालिकाको वडा नम्बर ७ र ९ मा धान, इनरुवा ९ मा केरा पकेट तथा मौसमी र बेमौसमी तरकारी, फलफूलको खेती रहेका छन् । उता इनरुवा २ का किसानलाई समेतस्प्रे ट्याङ्की अनुदानमा वितरण गरेको वडा सदस्य वीरेन्द्र कुमार मेहताले जानकारी दिनुभयो ।