जजन्युज समाचारदाता । गढी
अगामि मंसिरमा हुने स्थानीय तहको उप निर्वाचनमा सुनसरीकाे गढी गाउँ पालिका ६ मा नेकपा माओवादी केन्द्रले उम्मेदवारकाे सिफारिस गरेको छ । वडा अध्यक्ष वन्ने आकांक्षीहरु धेरै भएपनि सर्वसहमतिमा कुशेश्वर खेरवारलाई उम्मेदवार बनाउने सिफारिस गरेको पार्टीले जनाएको छ । माओवादीले खेरवारलाई वडा अध्यक्ष बनाउने निर्णय गरेको पार्टीका गढी अध्यक्ष प्रभु अरगिरयाले जानकारी दिनुभयो ।


माओवादी बाहेक उम्मेदवार मनोनयन गर्ने मिति दुई हप्तामात्रै हुँदा पनि नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल (जसपा) र राप्रपाले उम्मेदवारको टुङ्गो लगाउन नसक्दा मतदातामा को को उम्मेदवार बन्दै छ भन्ने उत्सुकता बढेको देखिन्छ । अहिले सुनसरीका एक मात्रै वडामा चुनाव हुने भएकोले सबैजसो चियापसल, भेटघाट र गफगाफमा पार्टीका को को उमेदवार बन्ने होलान भन्ने चर्चा मतदातामा हुने गरेको छ । कुनै एक प्रमुख दलले उमेदवार चयन गरे त्यसलाई टक्कर दिने प्रतिस्पर्धी छान्ने दाउमा दलहरु रहेका छन् । उम्मेदवार तोकेपछि अरु आकांक्षीहरु भड्किने तथा पार्टीले तोकेका उम्मेदवारलाई असहयोग गर्ने भएकोले ठूला पार्टीको उमेदवार छनाैटमा समस्या देखिन्छ ।