जयकृष्ण यादव
इनरुवा,मंसिर ८ गते । इनरुवा नगरपालिकामा विवाह पञ्चमीको अवसरमा सीताराम रथ यात्रा निकालिने तयारी गरिएको रामजानकी गुठी संस्थाले जनाएको छ । सनिबार सुनसरीको इनरुवा ४ स्थित रामजानकी मन्दिरमा गठीले विभिन्न सरोकारबालाहरु सहितको छलफलबाट भव्य रुपमा रथ यात्रा निकालिने निणर्य गरेको हो । रामसिता रथयात्रा तथा डोलामा पाँच हजार बडी नगरबासीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रमा मंसिर २१ गते विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिने भएको छ । स्थानीयहरूको उत्साहजनक सहभागितामा विवाह पञ्चमीको अवसरमा डोला तथा रथयात्रा निकालिने भएको हो ।


त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा रामसीताको पूजाआराधना गरी यो पर्व मनाइने भएकाले इनरुवामा भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रथारोहण सहित रथयात्रा निकालिने भएको छ । रामजानकी गुठी संस्थाका उपाध्यक्ष पुण्य सिग्देलले गुठी र रामजानकी विवाह महोत्सव आयोजक समितिको अगुवाइमा इनरुवा ४ को रामजानकी मन्दिरबाट राम र सीतालाई विशेष सुसज्जित डोलामा राखी बस चौक, जिल्ला प्रहरी कार्यालय, इनरुवा १ लोकतान्त्रिक चौक, जिल्ला समन्वय समिति, इनरुवा २ कुसुम गाछी सहित, शिक्षा विकास तथा समन्वय इकाई हुँदै इनरुवा ९ बबिया हुँदै इनरुवा २ को लक्ष्मीनारायण मन्दिरमा पुर्याउदै रथयात्रा सकिने तयारी गरेको सिग्देलले जानकारी दिनुभयो ।


छलफलमा सरोकारबालाहरुले रथयात्रामा सहभागि हुने पुरुषहरुलाई धोती कुर्ता वा दौरा सुरुवाल, कुर्ता तथा महिलाहरुलाई सारी चोलोको पहिरणमा आउन अपिल समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
छलफलमा प्रदेश सभा सदस्य रामप्रसाद मेहताले सदातनीहरुको महान पर्व भएकाले विवाह पञ्चमीमा मौलिक पहिरणमा उपस्थितीका लागि अपिल गर्नुभयो ,।
छलफल कार्यक्रममा दयानन्द साह, मुन्ना साह, राजेन्द्र प्रसाद साह, हरिनारायण मेहता,, जितन मेहता, सत्य यादव सहितले कार्यक्रमलाई भव्य बनाउनुपर्ने र सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


सहभागि महिलाहरुले विवाह पञ्चमी तथा रामसिता रथ यात्रा पूर्व मंसिर २० गते कुमरन, मैटकोर, फुल लोडही, सांस्कृतिक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएको सहभागी सोनी यादवले जानकारी दिनुभयो ।
विवाह पञ्चमी तथा रामसिता रथ यात्रामा इनरुवा नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ । बिदाको व्यवस्था मिलाई दिन र समग्र इनरुवाबासीको माग र आस्थालाई सम्मान गर्न आग्रह सहित गत वर्ष माग पत्र बुझाएपछि नगर प्रमुख केदार भण्डारीले हिन्दुहरूको आस्थाको पर्व र ऐतिहासिक रूपमा बर्षेनि निकालिँदै आएको डोला तथा रथयात्रालाई ध्यानमा राखेर मंसिर २१ गते बिदा दिनुहुने भएको हो ।

जिल्लाको सदरमुकाम इनरुवामा भगवान् श्री रामचन्द्रको ‘राम राज्य रथ यात्रा’ नगर परिक्रमा गरिने भएकाले त्यसमा कक्षा १० माथिका उच्च शिक्षा पढ्ने विधार्थीहरुलाई समेत सहभागी गराउने गुठीका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभएको छ । सहभागीहरूले राम सीताको सम्बन्ध र अनुशासनले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु–गराउनु पर्ने उद्देश्यका साथ रथ यात्रा निकालिने जनाएको छ ।