साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न
सुनसरीकाे इनरुवा नगरपालिका ९ बबियामा साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाे सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ३३ आै लैंगिक हिंसा विरुद्धको १६ दिवशिय अभियानमा साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न भएको हो । प्रहरीले स्थानीय सरस्वती माध्यमिक विधालयका मावि तहका विधार्थीहरुलाई लक्षित गरेर साइबर अपराध र बाल विवाह विरुद्धको सचेतना मुलुक कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा प्रहरी निरिक्षक सविना लिम्बूले सहजिकरण तथा प्रशिक्षण दिनुभएको थियो । साइबर अपराध र बाल विवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनिकरणको लागि चाल्नु पर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखिकरण गरिएको थियो ।
लिम्बूले विधार्थीहरुलाई प्रशिक्षण दिनुहुदै साइबर अपराध त्यस्तो प्रकृतिको अपराध हो जसले कम्प्युटर वा विद्युतीय उपकरणलाई माध्यम बनाई वा अर्काको कम्प्युटरमा अनधिकृत पहुँच स्थापित गरी आपराधिक मानसिकताबाट अरुलाई दुःख दिने वा हानी नोक्सानी पुर्याउने एउटा सामाजिक अपराध भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी बालबालिका स्वयम्ले बाल विवाहको कारण परेको असरहरुको बारेमा उदाहरण प्रस्तुत गर्दै बाल विवाह नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालयकि प्रहरी निरिक्षक लिम्बूले विद्यालयमा बाल विवाहको अवस्थाको बारेमा समेत छलफल र जानकारी लिनुभएको थियो ।
सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति निवर्तमान अध्यक्ष जयकृष्ण यादवले विद्यालयमा प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुले बालबालिकामा ज्ञान र चेतना बृद्धि भएको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो । आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण बाल विवाह भइरहेको भन्दै उहाँले बाल विवाह न्यूनिकरणको लागि स्वयम् बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयको कक्षा ८ देखि १२ सम्मका अध्ययनरत विद्यार्थी, शिक्षकहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम प्रधानाध्यापक तेजनारायण यादवकाे अध्यक्षता तथा समितिका जयकृष्ण यादवकाे विषेश आथित्यतामा सम्पन्न भएको थियो ।