जुगेश दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिका वडा नं. ६ ठाकुरबारीमा अवस्थित श्री रामजानकी मन्दिरमा नवनिर्मित समुदायक भवनको भव्य उद्घाटन सम्पन्न भएको छ। विवाहपञ्चमीको अवसर पारेर उक्त भवनको उद्घाटन प्रदेश सांसद तथा पूर्व कृषि राज्यमन्त्री माननीय रामप्रसाद मेहताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

शहरी विकास कार्यालय विराटनगरको ३५ लाखको सहयोगमा निर्मित यो भवन उपभोक्ता समितिका अध्यक्ष शिवनारायण मेहता (सवारीलाल) को अध्यक्षतामा निर्माण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि माननीय रामप्रसाद मेहताले समुदायक भवनको उद्घाटन गर्दै मन्दिरको विकासका लागि प्रदेश र संघबाट आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले निर्माण समितिका अध्यक्ष तथा स्थानीयवासीलाई यस भवन निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गरेकाेमा धन्यवाद दिएका छन ।

विशिष्ट अतिथि देवानगञ्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले समुदायक भवन निर्माणले मन्दिरमा आउने भक्तजनहरूलाई बस्न सहज हुने र आगन्तुकहरूको संख्या वृद्धि हुने विश्वास व्यक्त गरे। उनले मन्दिरको उपयोगका लागि थप विवाहमण्डप निर्माण गर्ने घोषणा समेत गर्नुभएकाे छ।

वडा अध्यक्ष हरिनन्दन मेहताले समुदायक भवनले धार्मिक गतिविधि र सामाजिक कार्यलाई थप व्यवस्थित बनाउने बताउँदै यस निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयाे।

कार्यक्रममा देवानगञ्ज गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष हरिनन्दन मेहता, वडा नं. २ का अध्यक्ष जगन्नारायण मेहता, नेकपा एमालेका पालिका अध्यक्ष आलम अन्सारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद मण्डल, महानन्द यादव, र अन्य स्थानीय नेता तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेकाे थियो।

मन्दिरको स्तरोन्नति र घेराबेराका लागि संघ र प्रदेश सरकारबाट थप बजेट जुटाउने प्रतिबद्धता माननीय रामप्रसाद मेहताले व्यक्त गरेका छन। यसैगरी, निर्माण समितिका अध्यक्ष शिवनारायण मेहताले मन्दिरलाई आधुनिक बनाउन विद्युतीय ढोलको सहयोग प्रदान गर्नुभयाे।

यस भवनको निर्माणले मन्दिरमा हुने धार्मिक र सामाजिक गतिविधिमा सहजता आउने विश्वास मन्दिर व्यवस्थापन समितीका अध्यक्ष विष्णुप्रसाद मण्डलले जानकारी दिनसभयाे ।