इनरुवा, चैत २२ गते । सुनसरीको इनरुवा नगरपालिकामा नगरको शैक्षिक सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले ज्ञापन पत्र बुझाएको छ । महासंघका सचिव राकेश निरौलाका अनुसार इनरुवा उपप्रमुख विनिता कुमारी मेहतालाई इनरुवा नगरपालिकामा १३ बुदें ज्ञापन पत्र बुझाएको हो ।

बुझाएको ज्ञापन पत्रमा भनिएको छ , “ विद्यालयमा समुदायको प्रतिनिधिहरुले अभिभावकको प्रतिनिधित्व गर्दै, विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्राबधान २०२८ साल देखि कायम छ । विद्यालयका व्यवस्थापन समितिलाई आफ्नो अधिकार क्षेत्र पनि थाहा नहुने, विद्याललय समितिलाई अन्य सम्बद्ध सरोकारवालाका तर्फबाट खोजी निधि समेत नहुने, बिद्यालयको सिकाई उपलब्धी खस्कीदै जाने, सामुदायिक विद्यालय प्रशासन प्र.अ.समितिको अध्यक्षका विचमा समन्वय तथा बिद्यालय सुधार लगायत अन्य शैक्षिक गुणस्तरको विषयमा एकमत नभएको, निर्णयमा विवाद हुने गरेको अवस्थामा निर्णय भएता पनि कार्यान्वयन गर्ने समयमा एकले अर्कालाई सहयोत्मक भूमिकामा नरहनु सामुदायिक बिद्यालय सुधार नहुनुमा धेरै कारणहरु मध्ये सरकार, जनप्रतिनिधि र स्थानीय तथा अभिभावक रहेको छ । शैक्षिक विश्वासको वातावरण बनाउन गर्नुपर्ने गतिविधिमा मौन देखिन्छ । कतिपय विद्यालय व्यवस्थापन समितिले फगत पदभार ग्रहण र सम्मान आदन प्रदानमा मात्र सिमित रहेको अवस्था र अर्कोतिर शिक्षाको जिम्मेवारी पाएको स्थानीय सरकारले पनि समितिलाई उपेक्षा गरेको जसकारण समग्र नगरको शिक्षाको अवस्था खस्किएको छ । शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले मात्रै पनि ईमानदारी पुर्वक विद्यमान ऐन, कानुन र नियमावलीलाई कार्यान्वनयन र पान गरेको खण्डमा सम्बोधन गर्न सकिने देखेका छौं । हामीले दुई वर्षमा पाँच पटक ज्ञापन, पत्र, ध्यानाकर्षण पत्र, माग पत्र र सुझाव पत्र बुझाउदाँ समेत इनरुवा नगर सरकारबाट खासै चासो नलिएको हो की जस्तो भान भएको छ। हामीले शिक्षा सुधार भएपछि समग्र नगरको विकासमा योगदान र नगरकै हित हुने भएकाले यसलाई आग्रह पूर्वाह भन्दा विशुध शिक्षाको लागि हो भने इमान्दारि प्रर्वक काममा लागन आग्रह गर्दछौं । यसरी केही सामान्य प्रयासबाट पनि शैक्षिक सुधार गर्न सकिने भएकाले हामीले सुधारको अपेक्षा सहित नगरपालिकालाई यो ज्ञापन बुझाउन आएको हो । ”
उक्त ज्ञापनपत्रमा समावेश गरेको माग तथा सुझावहरुमा नगरका सबै सामुदायिक विधालयमा शिशु बालविकास केन्द्र देखि कक्षा ५ सम्म मातृभाषा तथा अग्रेंजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्नुपर्ने, शिक्षक तथा प्रधानाध्यापकलाई समय अनुकूल पेसागत क्षमता विकास तालिम र विधालयमा अतिरिक्त सेवा वा काम गर्नेलाई प्रोत्साहन सुविधाको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।
त्यसैगरी बालबालिकाको अहित र पढाई हुने समयमा लामो विदा दिने बालमैत्री विरोधी , गलत नियतले केही वर्षदेखि जारी गर्दै आएको शैक्षिक क्यालेन्डर सुधार गर्नुपर्ने ( यसमा बैसाख २ गतेदेखि नियमित कक्षा सञ्चालन, दशै देखि छठसम्मको लामो विदा कटौती , परिक्षा त्रेमासिक असार, असोज, पुस र चैतमा गरि चार वटा परीक्षा लिनुपर्ने , बर्खे र हिउँदमा हुने विदालाई पुनर्वालोकन गर्नुपर्ने ), नगरक्षेत्र भित्र आन्तरिक शिक्षक सरुवा अभिलम्भ गर्नुपर्ने, शिक्षकलाई क्षमता विकास सहित अनुशासनमा राख्ने वातावरण निर्माण गर्नुपर्ने ( राम्रो गर्नेलाई थप सुविधा, दण्ड र पुरस्कारको निति कार्यान्वयन ), हालै सार्वजनिक भएको सूचना अनुसार प्रधानाध्यापक नियुक्ति पारर्दशी गर्नुपर्ने भनिएको छ । त्यसैगरी सबै विधालयमा विधार्थीको क्षमता र प्रतिभालाई प्रस्फुटन गर्न मासिक अतिरिक्त कृयाकलापको व्यवस्था गर्नुपर्ने , लेखापरीक्षण प्रतिवेदन र सामाजिक परिक्षण पारर्दशी गर्नुपर्ने र सार्वजनिक गर्नुपर्ने, सबै सामुदायिक तथा संस्थागत विधालयमा नियमित अनुगमन गर्नुपर्ने , शिक्षक, प्रधानाध्यापक , अभिभावक , विधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र जनप्रतिनिधि बिचमा कम्तीमा दुई मासिक बैठक , छलफल वा अन्तरकृया कार्यक्रम गर्नुपर्ने, पाठयपुस्तक समयमा वितरण गरि कक्षा समेत नयाँ शैक्षिकसत्रको बैसाख २ गतेदेखि नियमित कक्षा सञ्चालन गर्नुपर्ने र छात्रवृति समेत जेठ मसान्तभित्र वितरण गर्नुपर्ने माग गरेको छ । त्यसैगरी अनुशानको पालन नगर्ने विद्यालय , प्रधानाध्यापक र अनुमती नलिई सरकारीमा जागिर खाने निजी वा क्याम्पसमा कक्षा लिएर समुदायिक विद्यालयलाई आरामको थलो बनाउनेहरुलाई छानविन गरी कार्वाही गर्नुपर्ने तथा उत्कृष्ट शिक्षक, प्रधानाध्यापक , शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिलाई मापदण्ड बनाएर पुरस्कृत वा सम्मान गर्नुपर्ने सुझाव ज्ञापन पत्रमा दिएको छ । ज्ञापन पत्रमा महासंघका नगर अध्यक्ष जयकृष्ण यादव र सचिव राकेश निरौलाले हस्ताक्षर गर्नुभएको छ भने महासंघका निर्मल सिंह खवास सहित विभिन्न संघसंगठनका प्रतिनिधिहरुको उपस्थिती रहको थियो । उपप्रमुख मेहताले ज्ञापन पत्र शिक्षा शाखा र नगर प्रमुखलाई पेश गर्ने बताउनुभयो ।

१,सुनसरीको इनरुवा नगरपालिकामा नगरको शैक्षिक सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले ज्ञापन पत्र बुझाउदै ।