लागू औषध ब्राउन सुगर र ३२३ केजी गाँजा सहित पक्राउ

जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख ९ गते । सुनसरीको कोशी गाउँपालिकाबाट ठूलो परिमाणको गाजाँ बरामद भएको छ । मंगलबार लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटीएको संयुक्त टोलीले लागू औषध गाँजा ३२३.२१ किलोग्राम बरामद गरेको हो । प्रहरीका अनुसार सुनसरीको कोशी गाउँपालिका वडा नं.–१ भन्सार कार्यालय अगाडी भारतबाट नेपालतर्फ पैदल आउदै गरेको भोजपुर अरुण गाउंपालिका वडा नं.५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई लागू औषध खैरो हेरोईन सहित पक्राउ गरेको हो । प्रहरीले कार्कीको साथबाट दुई ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । कार्कीलाई सोधपुछ गर्ने क्रममा उहाँले नै यसअघि चलाई ल्याएको प्रदेश १–०२–००२ च ५३४८ नम्बरको योद्धा पिक अप गाडी कोशी गाउँपालिका वडा नं.१ लौकही बजारमा पार्किङ गरी राखेकोमा खानतलासी गर्दा गाडी भित्र ११ वटा बोरामा प्याक गरेको अवस्थामा लागू औषध गाँजा ३२३.२१ किलोग्राम फेला पारेको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालक तेजेन्द्र कार्कीलाई लागू औषध गाजाँ, ब्राउन सुगर सहितको पदार्थ र गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ ।

१,सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा योद्धा पिक अप गाडी खानतलासी गर्दा गाडी भित्र ११ वटा बोरामा प्याक गरेको अवस्थामा फेला परेको लागू औषध गाँजा ३२३.२१ किलोग्राम सार्वजनिक गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा