जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख १८ गते । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री शहरी विकास मन्त्री प्रभु साहले तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । विहीबार सुनसरी सदरमुकाम इनरुवामा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आम ट्रेड युनियन फेडरेसन केन्द्रीय समितिले आयोजना गरेको दलाल दलतन्त्र विरुद्ध खबरदारी सभालाई सम्बोधन गर्नुहुदै साहले सो कुरा बताउनुभएको हो । उहाँले जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्याएको दावी गर्नुहुदै त्यही दलतन्त्र दुई दलले मिलेर लोकतन्त्र सिध्याउन लागेको आरोप लगानुभयो ।
साहले निरन्तर अहिलेको व्यवस्थाले जनताको हित नहुने भन्दै जनता जाग्नुपर्नेमा जोड दिँदै यसका लागि युवा, विद्यार्थी, श्रमजीवी मजदुर लगायतलाई परिचालन गरेर अघि बढिनुपर्ने जरुरी रहेको बताउनुभयो ।


उहाँले आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उद्घोष गर्नुभयो । साहले आफूहरु जनताको शासनका लागि पार्टी खोलर आएको र त्यसका लागि देशभर नै संगठन विस्तार, बैठक, सभा, भेला लगायतका विभिन्न कार्यक्रम मार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएको बताउनुभयो । फरक प्रसंगमा साहले देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएको बताउँदै साहले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
अहिले नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गर्नुभयो । एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न अब मजदुर, श्रमिक र व्यवसायी सहितकाले सामूहिक रूपमा सडक सङ्घर्षमा उत्रिनमा ढिलाइ गर्न नहुने बताउनुभयो ।
आजपा अध्यक्ष साहले जनताको शासन स्थापित गर्न र लोकतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प नभएको बताउनुभयो । लोकतन्त्र बचाउनका लागि काँग्रेस र एमालेसँग जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने समेत उहाँले बताउनुभयो । आम निर्वाचनमा छुटाछुटै गठबन्धनबाट सहभागी भएका काँग्रेस र एमालेले जनतासँग भोट माग्ने बेलामा एउटा प्रतिबद्धता गरेको तर उनीहरू आफ्नै प्रतिबद्धता विपरीत सत्ता स्वार्थमा डुबेकाले जनताले आफ्नो भोट फिर्ता माग्नुपर्ने उहाँले बताउनुभयो ।
अहिलेको व्यवस्थाले जनता निराश, आजित भएको बताउँदै उनले आम जनताको शासन स्थापित गर्नुपर्ने बताउनुभयो । काँग्रेस र एमालेको गठबन्धनले भ्रष्टाचारीलाई संरक्षण गर्दै मुलुकलाई लुट्ने काममा लागेको आरोप लगाउनुभयो ।
सुनसरी सदरमुकाम ईनरुवामा आम ट्रेड युनियन फेडरेसन केन्द्रीय समितिले दलाल दलतन्त्र विरुद्ध खबरदारी सभा सम्पन्न गरेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको प्रमुख आथित्यतामा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आम ट्रेड युनियन फेडरेसन केन्द्रीय समितिले दलाल दलतन्त्र विरुद्ध खबरदारी सभा सम्पन्न गरेको हो । सभाका वत्ताहरुले अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्ध बोल्ने, कर आतंक विरुद्ध बोल्ने अवसरका लागि सभा गरेको बताएका थिए । कार्यक्रममा सांस्कृतिक झाकी समेतको आयोजना गरेको थियोे । शिक्षा विगार्ने, विधार्थीलाई अन्यायमा पार्ने ओली सरकार विरुद्ध बोल्ने थलोको रुपमा सभा गरेको संविधानसभा सदस्य तथा पार्टीका सह अध्यक्ष तिलक थापाले बताउनुभयो । उहाँले श्रमिकहरुको हकहितका लागि समेत कार्यक्रम गरेको बताउनुभयो । नेताको लोकतन्त्र आएपनि जनताको लागि अझैसम्म लोकतन्त्र नआएको बताउनुभयो ।
श्रमजीवीहरु ईतिहास भएकोले उहाँहरुको सम्मान हुनुपर्ने र सबै जनतालाई न्याय हुनुपर्ने , कर आतंक बन्द गर्नुपर्नेमा युवा नेता विजय यादवले जोड दिनुभयो । पुनरगठित ट्रेड युनियनका खगेन्द्र भण्डारी, पार्टीका कोशी प्रदेश अध्यक्ष जुडिलाल मोची, ईन्चार्ज सिन्टु यादव, कलाकार रचना शिवाकोटी सहितको उपस्थिती रहेको थियो ।
आजपा निकटको आम ट्रेड युनियन फेडरेसनको कार्यक्रममा वत्ताहरुले मजदुरको हकहितका लागि सडक सङ्घर्षमा उत्रिन मजदुरलाई आह्वान गरेका थिए ।


१, विहीबार सुनसरी सदरमुकाम इनरुवामा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आम ट्रेड युनियन फेडरेसन केन्द्रीय समितिले आयोजना गरेको दलाल दलतन्त्र विरुद्ध खबरदारी सभालाई सम्बोधन गर्नुहुदै प्रभु साह ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा