इनरुवा नगरपालिका २ नम्बर वडामा व्यापक भ्रष्टाचार

इनरुवा, वैशाख २२ गते । इनरुवा नगरपालिका २ नम्बर वडामा व्यापक भ्रष्टाचार बढेको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीयहरुले वडा अध्यक्ष आफू ठेक्कापट्टामा व्यवस्त भएको र योजनाविच्छे कमिसनमा काम गरेको आरोप लगाएका छन् सोमबार सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आयोजना गरेको टोलबस्तीको योजना छनौट तथा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले सञ्चालन खर्चको शिर्षकहरुमा कागज मिलाएर भ्रष्टाचार गरेको दावी गरेका हुन् ।

स्थानीयबासी चिनेश्वर मेहताले डिहिबार थान निर्माण गर्नुपर्ने, सञ्चालन खर्तको विवतरण सार्वजनिक गर्नुपर्ने, विभिन्न शिर्षकमा के कती काम भएको प्रश्न राख्दै सुशासनका लागि काम गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी वडा निर्माण भएपनि नयाँ भवनबाट किन सञ्चालन नभएको ? नाला बाटो निर्माणको कुनै मापदण्ड छ की छैन् ? हाटमा जग्गा दान गर्ने मैनकी पण्डितको परिवारलाई सम्मान र सालिक निर्माणका लागि किन ध्यान नदिएको र दुर्ग पुजामा बजेट के कती कारणले कटौती गरेको भनी प्रश्न गर्नुभयो ।
कृषि उपकरण वितरण भएको तर अरुलाई विक्रि गरेकाले अनुमगन र कार्वाही नभएको विषयमा गुनासो राख्दै सबै योजनाका लागि राजनीतिक दलहरुलाई समन्वय गर्न आग्रह गर्नुभयो ।
स्थानीय अन्जना साहले स्वास्थ्य विमा कार्यक्रम ल्याउनुपर्ने र विपन्न तथा उपचारका लागि आर्थिक सहयोग गर्नुपर्ने माग गर्नुभयो । स्थानीय सरबाज अंसारीले मुस्लिम टोलको बाटो निर्माण गर्नुपर्ने, ढल सहितको बाटो निर्माण, पोलबतीको व्यवस्था र इदगाहाको व्प्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । स्थानीय रुपेश यादवले दुर्गा मन्दिरको निर्माण, खानेपानी, हातमा खानेपानी, पोलबती र जग्गादाताहरुलाई सम्मान गर्नुपर्ने माग गर्नुभयो ।
त्यसैगरी सन्तोश शर्माले रामबहादुर टोल जानेबाटोमा ग्राभेल सहितको काम, पोल बती, सेन्टमेरी स्कूलको बाटो र स्वास्थ्य संस्थामा औषधीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
सागर पंडितले नाला सरसफाई विहिबारे हाट बजारको सरसफाई सहित फोहोर व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो । अर्का स्थानीय धुब्र नारायाण पंडित र महेश्वर साहले विहिबारे हाटमा ब्रेकरको व्यवस्था, बाटोको अतिक्रमण हटाउनुपर्ने, पोलबती, डेगुं मलेरिया विरुद्ध मच्छर मार्ने औषधी गर्नुपर्ने र ट्राफिक व्यवस्थापन गर्नुपर्ने, दुर्घटना नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो ।
सुरेन्द्र मेहताले किसानको प्रवद्र्धनका लागि कृषिमा के कती लगानी भएको ?,कृषि औजार तथा सामग्री कसले पाएको ? भन्दै नयाँ किसानलाई उपकरण वितरण गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रममा मसुर अहमद, गोपाल यादव, दिपेन्द्र साह, पञ्चदेव मेहता, सिताराम मेहता, राजकुमार शर्मा र भोटन मेहता सहित २० जना बढीले प्रश्न, जिज्ञासा तथा सुझाव राख्नुभएको थियो ।
सहभागीहरुले तत्कालिन शहरी विकास मन्त्रालय सहित संघीय सरकारको सहयोगमा निर्माण भएको विहीबारे हाटको टहरामा वर्षभरी नै थोक हाटबजार लाग्ने वतावरण निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।
स्थानीयको माग र सुझावका विषयमा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले स्थानीयको माग जायज भएको र आफूले सकदो काम गर्ने प्रतिकृया दिनुभयो । उहाँले नागरिकको जनगुनासो, जिज्ञासा, सुझावहरु ग्रहण तथा योजनाहरु संकलन गर्ने क्रममा सकारात्मक सुझवाहरु आएको बताउनुभयो । उहाँले नागरिकको सेवामा लाग्ने आफूहरु सेवक भएको र सेवा प्रवाहप्रति प्रतिवद्ध रहेको समेत बताउनुभयो । उहाँले नागरिकको स्थानीय सरकार प्रतिको सन्तुष्टी थाहा पाउनका लागि वडावडामा कार्यतालिका बनाएर सार्वजनिक सुनुवाई गरेको जानकारी दिनुभयो । साजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख विनिताकुमारी मेहता, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज निरौला, वडा अध्यक्ष विश्वनाथ ठाकुर, कार्यापालिका सदस्यहरु, वडा सचिवहरु र शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

