इनरुवामा डिजिटल घर नम्बर
जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ३ गते । अनलाईन र प्रविधिमैत्री संसार भईरहेको बेला सुनसरीको इनरुवा नगरपालिकाले नगर क्षेत्रको घरघरमा डिजिटल घर नम्बर राख्ने काम सुरु गरेको छ । लोकेसन थाहा पाउनेदेखी राजस्व संकलनसम्ममा योगदान रहने डिजिटल घर नम्बर प्रणालीको इनरुवाका नगर प्रमुख केदार भण्डारीले सुभारम्भ गर्नुभएको छ । इनरुवा नगरपालिकामा डिजिटल घर नम्बर प्रणालीको उद्घाटन गर्नुहुदै भण्डारीले डिजिटल तथा प्रविधिमैत्री काम सुरु भएको जानकारी दिनुभयो । भण्डारीले डिजिटल घर नम्बर प्रणालीको स्क्यान स्टिकरण टासेर सुभारम्भ गर्नुभएकोमा घर नम्बर निर्धारण (म्याट्रिक्स विधि), क्यूआर कोड प्रणालीको कार्य सुरु भएको जानकारी दिनुभयो । उहाँले पहिलो चरमा इनरुवा नगरपालिका वडा नम्बर १, २, ३ र ५ नम्बर वटामा झण्डै चार हजार ८३२ घरधुरीमा डिजिटल घर नम्बर प्रणाली लागु गरेको जानकारी दिनुभयो । यस प्रणालीले भूउपयोग र कित्ता नक्शा एकीकरण घर नम्बर प्रणालीलाई भूउपयोग र कित्ताको जिआईएस डाटासँग जोडिने भण्डारीले जानकारी दिनुभयो । उहाँले उसबाट सम्पत्ति कर र राजस्व अनुमानः घरको क्षेत्रफल, प्रयोगको प्रकार, स्थानका आधारमा कर निर्धारण गर्न समेत योगदान गर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा इनरुवाका सूचना अधिकृत निरज पोखरेलले दिनुभएको जानकारी अनुसार इनरुवा नगरपालिकामा डिजिटल घर नम्बर प्रणालीको सुरु भएको र घर नम्बर निर्धारण (म्याट्रिक्स विधि)बाट प्रत्येक घरलाई सम्बन्धित सडकबाटको दूरी मीटरका आधारमा एक अद्वितीय नम्बर प्रदान गरिरहेको छ । उहाँका अनुसार “यदि कुनै घर सडकको सुरु बिन्दुबाट १४५ मिटरमा छ भने,त्यसको नम्बर ’१४५’ हुनेछ ।,गुगल प्लस कोड समावेश जिपीएसको आधारमा प्रत्येक घरको प्लस कोड निकालिनेछ जसलाई नम्बर प्लेटमा राखिनेछ। यसले भू–स्थानको अद्वितीयता सुनिश्चित गर्छ । ”
उपप्रमुख विनिता मेहताले डिजिटल प्रोफाइल अद्यावधिक गर्न प्रत्येक घरसँग सम्बन्धित विवरण धरधुरीको नाम, सम्पर्क नम्बर, व्यवसाय कोड स्क्यानबाट प्राप्त हुने भएकाले सार्थक प्रयास भएको बताउनुभयो ।
सडक नामाकरणमा समेत योगदान पुगेको र अहिले अनियमित वा नामविहीन सडकहरूलाई व्यवस्थित ढंगले नाम दिइने बताउनुभयो । विकास योजनाहरूको म्यापद्वारा अभिलेखिकरण गर्न समेत यसले सहयोग गर्ने जनाएको छ ।

१, सुनसरीको इनरुवाका नगर प्रमुख केदार भण्डारीले इनरुवा नगरपालिकामा डिजिटल घर नम्बर प्रणालीको उद्घाटन गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
