इनरुवा बजार अनुगमन अनुमती विनाको पसललाई जरिवाना

अलिन श्रेष्ठ । इनरुवा
सुनसरीको इनरुवा नगरपालिका स्थित इनरुवा बजार अनुगमन गरिएको छ । इनरुवा नगरपालिकाले सरोकारबालाहरु सहित गरिएको बजार जनुगमनका क्रममा अनुमती विना सञ्चालनमा रहेको केही पसललाई जरिवाना तिराएर कार्वाही गरेको छ । म्याद सकिएको समान विक्रि र दर्ता नभएको तथा इनरुवा नगरपालिकामा अनुमती नलिई सञ्चालन गरेको पसललाई कार्वाही स्वरुप जरिवाना तिराएको हो ।
दसैँ, तिहार र छठ लगायत चाडपर्व मात्रै बजार अनुगमन गरेको गुनासोलाई ध्यानमा राखेर नियमित रुपमा बजार अनुगमनलाई प्राथमिकता दिएकोमा एक हप्तायता अनुगमनलाई तिब्र पारिएको छ । नगरपालिकाको निर्देशन अनुसार प्रहरी, प्रशासन र खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय समेतको टोलीले बजार अनुगमन गरेको छ । बजार अनुगमन टोलीले खाद्यान्न, लत्ताकपडा, माछामासु, तरकारी, फलफूललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरिरहेको जनाएको छ ।

व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको जनाएको छ ।
इनरुवामा दोस्रो दिन गरिएको अनुगमनका क्रममा मिठाई पसलहरुमा सरसफाईको कमी, स्वास्थ्यमा ध्यान नदिएको अवस्था रहेको पाइएकाले सचेत गराएको छ । अनुगमनमा सहभागी उपभोक्ता मञ्च इनरुवाका अध्यक्ष शंकरनाथ महाजुले इनरुवा २ मा अनुमती विना सञ्चालनमा रहेको एक पसललाई तीन हजार रुपियाँ जरिवाना तिराएर कार्वाही गरेको र सात दिनभित्र दर्ता गर्न आग्रह गरेको नगरपालिकालाई उदृत गर्दै जानकारी दिनुभयो । उता बजार अनुगमन व्यवसायीहरूलाई आतङ्क फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको पनि स्पष्ट पारेको छ । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने इनरुवा नगरपालिकाले जनाएको छ ।
