पत्रकारलाई धम्की

सुनसरी
२०८२ जेठ २२ गते ।
सुनसरीकाे देवानगञ्ज गाउँपालिका १ निवासी २७ वर्षीय पत्रकार जुगेश बाबु दासलाई धम्की आएको छ । सडकमा मकै सुकाएकाे समाचार लेखेको भन्दै नमो अनलाइन डटकममा कार्यरत पत्रकार जुगेश दासलाई नेपाल प्रहरी विराटनगरमा पोस्टिङ् रहेको प्रहरी जवान २४ वर्षीय अरुण मेहताले फोनमार्फत तथानाम गालीगलौज गरी “पैसा लिएर समाचार लेख्छौ, गाउँपालिका अध्यक्षले पैसा दिन्छन् त्यही भएर त्यसको विरुद्धमा समाचार लेख्दैनौ?” जस्ता तथ्यहिन आरोप लगाउँदै , सडकमा किसानले मकै सुकाएकाे समाचार किन लेखेको भन्दै तपाईं लाई भेटेभने “खुट्टा काटिदिन्छु, पत्रकारिता सिकाईदिन्छु” भन्दै धम्की दिएको हो ।
पिडित पत्रकार दासले धम्कीपूर्ण भाष्य प्रयोग गरेर खुट्टा काटी दिने धम्की दिएकाे गुनासो गर्नुभयो ।
तीन दिन अघि देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट समाचार नमो अनलाइन डटकमको फेसबुक पेजमा प्रकाशित भएपछि सोही बिषयलाई लिएर धम्की दिएको हो। पत्रकार दासका अनुसार नेपाल प्रहरीमा कार्यरत मेहताले फोनमार्फत तथानाम गालीगलौज गरी “खुट्टा काटिदिन्छु, पत्रकारिता सिकाईदिन्छु” भन्दै धम्की दिएको हो ।
नेपाल प्रहरीजस्तो जिम्मेवार र अनुशासित निकायबाट पत्रकारमाथि यसप्रकारको व्यवहार हुनु प्रेस स्वतन्त्रतामाथिको हमला भएको नमाे अनलाइनका सञ्चालक ब्रहमदेव मेहताले जानकारी दिनुभयो ।
माैखिक रुपमा स्थानीय प्रहरी प्रशासन तथा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जानकारी गराएको मेहताले बताउनुभयो । यसको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेकाे छ ।
एसपी सुमन थापाले दुवै पक्षलाई बसाएर छलफल गर्ने र बुझ्ने त्यसपछि प्रकृया अगाडि बढाउने प्रतिक्रिया दिनुभयो ।
