नीजि तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार प्याब्सन सुनसरीको आयोजनामा सुनसरीको इनरुवामा जिल्लास्तरीय अन्तर विद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।
हरेक वर्ष रनिङ शिल्डको रुपमा आयोजना हुँदै आएको जिल्लास्तरीय चित्रकला प्रतियोगितामा यस वर्ष जिल्लाका ७ वटा पालिकाहरुबाट जित निकालेका २२ विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद डा. इसराइल मन्सुरीले निजी विद्यालयहरुले देशको शिक्षा क्षेत्रमा अत्यन्तै ठूलो योगदान दिएको बताए । उनले नीजि विद्यालयहरुले पुर्‍याएको योगदानलाई राज्यले अवमूल्यन गर्न नहुनेमा जोड दिए । उनले प्याब्सनले सानासाना नानीहरुमा रहेको प्रतिभा प्रस्फुटनका लागि गरेका प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरुमा प्रदेशबाट बजेट विनियोजन गराउन आफूले पहल गर्ने बताए ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै प्याब्सन सुनसरीका प्रमुख सल्लाहकार बिष्णु प्रसाद कोइरालाले बालबालिकाहरुको लुकेका प्रतिभालाई प्रस्फुटन गराउन विविध विधाहरुहरुमा अवसर दिनुपर्छ भन्ने सोचका साथआफूले जिल्लाको नेतृत्व गर्दा प्याब्सनको जिल्ला नेतृत्वमा महत्त्वपूर्ण भूमिका खेलेको तथा द्वन्द्व कालमा सेनाबाट हत्या गरिएका आफ्नो दाजु बिजय कोइरालाको सम्मान र सम्झनामा रनिङ शिल्डको रुपमा आफूले चित्रकला प्रतियोगिता शुरु गराएको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीभित्र रहेका प्रतिभालाई प्रस्फुटन गर्न मद्धत पुर्‍याइरहेको दावी गरे ।
कार्यक्रम संयोजक तथा इनरुवा प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईले विद्यालय तथा नगरमा भएका प्रतिस्पर्धामा जित निकाल्दै जिल्लास्तरीय प्रतियोगितामा छनौट भएर आएका सबै विद्यार्थीहरु नै बिजेता सरह रहेकाले कसैले हारेर गएको अनुभव नगर्न आग्रह गरे। उनले प्रतिस्पर्धि विद्यार्थीहरुले प्रतियोगिताबाट सिकेर जानेमा आफू बिश्वस्त रहेको बताए ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै प्याब्सन सुनसरीका उपाध्यक्ष गणेश भण्डारीले प्याब्सन सुनसरीले विद्यार्थीहरुको चौतर्फी प्रतिभालाई प्रस्फुटन गराउन विविध विधामा विविध कार्यक्रमहरु गर्दै आइरहेको बताए । उनले हरेक उमेर समूहका विद्यार्थीहरुका प्रतिभालाई उजागर गर्न प्याब्सन लागिरहने बताए ।
प्याब्सन जिल्ला सचिव दीपक कार्कीले कार्यक्रममा यसअघि प्याब्सनको गाउँ तथा नगर कमिटिले आयोजना गरेको प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको जानकारी दिए ।
शुक्रवार सम्पन्न प्रतियोगितामा इटहरीको ब्राइट फ्युचर इङ्लिस स्कुलकी छात्रा निशुम माधेन प्रथम भएकि छिन् भने बराहक्षेत्र नगरमा रहेको सुबिधा स्कुलका छात्र एलिस कट्वाल द्वितीय भएका छन्। त्यसैगरी इनरुवाको निर्मला मेमोरियल बाल उद्यान सेकण्डरी इङ्लिस स्कुलकी छात्रा प्रसिद्धि आचार्य तृतीय भएकी छिन् भने बराहको सुनसरी स्टार एकेडेमीकी दिव्या मलाह सान्त्वना भएकी छिन्। प्रतिस्पर्धामा बिजयी विद्यार्थीहरुलाई प्याब्सन कोशी प्रदेशका सल्लाहकार तथा सुनसरीका प्रमुख सल्लाहकार बिष्णु प्रसाद कोइराला, कोशी प्रदेश उपाध्यक्ष निश्चलराज शाक्य, जिल्ला उपाध्यक्ष गणेश भण्डारीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको निर्णायकको रुपमा चरीबाको नामले परिचित जीवनाथ पोखरेल, भीम अधिकारी र गणेश निरौलाले भूमिका निर्वाह गरेको प्याब्सन सुनसरीका सहसचिव मनोज कुमार यादवले जानकारी दिए । उनले विद्यार्थीहरुको वृत्ति विकासमा प्याब्सन सुनसरी सदैव अगाडि रहदै आइरहेको बताए ।