देवराज यादव। सुनसरी

इनरुवामा बढेको चोरी घटनाको छानविन र चोर पक्राउ गर्न माग गर्दै नेपाल कम्युनिष्ओवाद केन्द्र इनरुवा नगर समिति, सुनसरीले प्रहरीको ध्यानाकर्षण गराएको छ।
माओवादी केन्द्र इनरुवा नगर अध्यक्ष गोविन्द पौडेलको अगुवाइमा ध्यानाकर्षण पत्र बुझाएर ध्यानकर्षण गराएको हो।  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनालाई ध्यानाकर्षण गराइएकोछ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “केही महिना देखि यस इनरुवा नगर क्षेत्र भित्र अत्यधिक मात्रामा चोरी भईरहेकोले हाम्रो पार्टी ने.क.पा. (माओबादी केन्द्र) को तर्फबाट गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।”


माओवादी केन्द्र इनरुवा नगर अध्यक्ष गोविन्द पौडेलको अगुवाइमा बुझाएको पत्रमा “इनरुवा नगरपालिका ३ अन्तर्गत सखुवागाछी एरियामा मात्र गितराज दाहाल, शम्भु पोखरेल, कमला खत्वे, नारायण आचार्य, अशोक कोइराला, दिलकुमारी बस्नेत, दुर्गा श्रेष्ठ, पवित्रा गुरुङ्ग, पदम पोखरेल, राजेश ढुंगेल, मनोज बस्नेत, मनोज अधिकारीको आमाको घर, लगायत इनरुवा ५ बलाहामा समेत सोही अनुसारका घरहरुको ताल्चा फुटाई सुन, चाँदी, नगद तथा ल्यापटप, मोबाईल जस्ता बहुमूल्य सामानहरु दिनानुदिन चोरी भईरहेको हुँदा हाल सम्म कुनै चोर पक्राउ गरेर सार्वजनिक गरेको थाहा नभएको, चोरी भएका कुनै सामन पक्री घर धनीलाई फिर्ता नभएको र जनता त्रासमै बस्नु परेको हुँदा जनताको शान्ति सुरक्षा एवं सम्पत्तीको रक्षा गर्ने दायित्व नेपाल प्रहरीको भएको हुँदा नेपाल प्रहरीलाई चोरी गर्ने व्यक्तिहरुलाई यथाशिघ्र पक्री कानुनी कार्वाही गर्न र चोरी भएका सामान फिर्ता बुझाईदिन अनुरोध गर्दछौं। “


पार्टीको ईन्चार्ज ओके दाहाल, नगर उपाध्यक्ष मोख्तार आलम र शंकर सापकोटा, जिल्ला सदस्य रमेश भट्टराई, धुर्व पण्डित लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको हो।