इनरुवामा ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम
जयकृष्ण यादव। इनरुवा
सुनसरी सहित विभिन्न स्थानमा बसोबास गर्ने उराव समुदायले आफ्नो महान पर्व करम पुजा हर्सोउल्लासको साथ मनाएको छ। जिल्ला सदरमुकाम इनरुवामा भव्यताका साथ उराव समुदायले करम पुजा मनाएको हो। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको अगुवाइमा उराँवहरूले भदौ पुर्णिमाको दिन पारेर ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

उराव समुदायको बसोबास रहेको गाउटोल बस्तिमा एक हप्ता अघि जमरा राखिएको र त्यस जमरा राखिएको अखडामा मौलिक नाचगान सुरु भएकोमा आइतबार⛪ करम पुर्व सन्ध्या
मनाएको उराँवहरूले बताएका छन्।

कोशी प्रदेशका विभिन्न जिल्लाको ४५ वटा टोलीका २५ जनाको दरले एक हजार १२५ जनाले करम पुर्व सन्ध्यामा मौलिक नाचगान प्रस्तुत गर्नु भएको थियो। आयोजक नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले ६२५ महिलालाई साडी र ५०० पुरुषलाई टि सर्ट भेस्ट वितरण गर्नुका साथै करम पुर्व सन्ध्या कार्यक्रम तथा करम पुजा हर्सोउल्लासको साथ मनाएकाे प्रतिष्ठान अध्यक्ष बेचन उरावले जानकारी दिनु भयो। करम पुर्व सन्ध्याको अवसरमा पांच हजार बढी संख्यामा उराँवहरूले सदरमुकाम इनरुवामा आफ्नो मौलिक पहिरनमा र्याली निकालिएको अध्यक्ष उराँवले बताउनुभएकाे छ। सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रमले उराँव समुदायको नयाँ पुस्तालाई संस्कृतिको जानकारी र मौलिकता बारेमा थाहा पाउने अबसर प्रदान गरेको प्रतिष्ठानले जनाएको छ । कोशी प्रदेशमा बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करमलाइ सार्थक पार्न एक महिना अघिबाटै तयारी र मौलिकता झल्किने कला कौशलता बारेमा अभ्यास गरेको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाका कोषाध्यक्ष रामलाल उराँवले जानकारी दिनुभयो। प्रतिष्ठानको आयोजनामा उराँवहरूले आफ्नो जातीय पहिरनमा र्यालीसहित नगर परिक्रमा गरेर प्रतिष्ठानको कार्यालय इनरुवा २ करम टोंकामा सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ ।

उराँवको महान् पर्वको बारेमा जानकारी दिन, मौलिक कला तथा भाषाको संरक्षण गर्ने र उराँव मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको प्रतिष्ठानका सचिव सम्पतलाल उराँवले बताउनुभयो ।
उराँवले उराँव समुदायहरूको हक, अधिकार र पहिचान संरक्षणका लागि समेत आठौं करम पूर्वसन्ध्या कार्यक्रमले सार्थक सन्देश दिएको बताउनुभयो । उराँवहरूको आफ्नै मौलिक पहिचान, भाषा, लिपि र संस्कृति भएकाले त्यसको संरक्षणमा योगदान गर्न करम पूर्वसन्ध्याले योगदान गरेको उहाँले जानकारी दिनुभयो ।
यस कार्यक्रमले उराँवहरूको पहिचान तथा सम्मानका लागि समेत योगदान गरेको शिक्षक तथा प्रतिष्ठानका सचिव सम्पतलाल उराँवले बताउनुभयो । करमका लागि उराँव समुदायले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरनसहित नाचगान गर्ने, प्रवचन भन्ने र सुन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा सम्पन्न गरेको दुहबीका परमेश्वर उराँवले बताउनुभयो । सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य र झाँकी समेत प्रदर्शन गरेकोले अन्य समुदायको मानिसहरूले अबलेन गरेको स्थानीय प्रमिला उराँवको भनाइ छ ।



करम पूर्वसन्ध्या कार्यक्रममा आफ्नो कलाकौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, ( फेसन सो), पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन समेत प्रदर्शन गरेको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सदस्य ब्रह्मदेव उराँवले बताउनुभयो ।
नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभूषा र भाषा, संस्कृतिप्रति आकर्षण गर्न र सही जानकारी दिन करम पूर्वसन्ध्याले सार्थक सन्देश दिएको उहाँले जानकारी दिनुभयो ।

सुनसरीको एतिहासिक इनरुवा झोडा फँडानी भएकाे समयमा बसोबास गर्ने पहिलो जाति नै उराँव भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउन समेत कार्यक्रम सार्थक भएको उराँवहरुले दावी गरेका छन् । प्रतिष्ठानका दुर्गा नारायण उरावका अनुसार गत सनिवार जमरा राखिएको र नेंगले करमको पूजा अचर्ना गर्दै सोमबार करम पुजा सम्पन्न गरेको छ। पूर्वी तराईमधेसमा बसोबास गर्ने भूमिपुत्र उराँवहरुले मुख्य चाड करम पूजा मनाउदै आएका छन् । यो पर्व कोसी प्रदेशमा झापा, मोरङ्ग, सुनसरी र मधेस प्रदेशमा सप्तरी,सिरहा, बारा, पर्सा तथा धनुषा जिल्लामा रहेका उराँवहरुले मनाउने गरेकाे पाईन्छ । पहिले यो चाड भाद्र शुक्ल एकादशीको दिन मनाइन्थ्यो । आजभोलि भाद्र पूर्णिमाको दिन करम पूजा मनाइन्छ । यो दिन मनाउने करम पूजालाई “राजी करम” भनिन्छ । यस दिनदेखि उराँवहरुका बस्तीमा करम पूजा शुरु भएको मानिन्छ र दशैंको टिका सम्म करम पूजा धुमधाम र उमंगका साथ मनाउने गर्दछन् । भाद्र पूर्णिमा आउनु एक हप्ता अगाडी जमरा राख्छन् ।
आयोजकले दिएको जानकारी अनुसार कोशी गाउँपालिका१ लौकही, भन्सार टोली,२ को बक्रो टोली,सप्तरिया टोली, जुबि टोली, झपा मझिटोल, इनरुवा नगरपालिका १ को एसके गुरुप, २ को मगर टोल टोली, ४ को बर्खेडाडा टोली, सुनसरी क्याम्पस टोली,आठ गाउँ टोली,इनरुवा ९ को जमुवा, तिनठाडा टोली, बराहक्षेत्र नगरपालिका १० को प्रकासपुर टोली, दुहबी नगरपालिका १० को सिमरिया टोली, १२ को ठोक्काटोल सहितको प्रदर्शन प्रदर्शनि रहेको थियो।
भोक्राहा नरसिंह गाउँपालिका १ ढोक टोली, लिला टोली, रौवहाटोल बारी र पारी टोली, ढोक एे, ढोक बी, भुटाहाखाल, हिरालाल टोली, दुर्गी टोली, ३ को डलबा टोल टोली,४ को ठिठरु टोली, लबटोली,सरना समाज सेवा समिति टोली,६ को गुन्जा टोली, बखला टोली, शिवगञ्ज टोली, हिरालाल टोली, महेन्द्र टोली, रामप्रसाद टोली, मोस्नी देवि टोली सहितको प्रदर्शनि रहेको थियो।
झापा र मोरंग जिल्लाको विभिन्न स्थानीय टोलीको समेत सहभागिता रहेको थियो।
जमराका लागि समाजमा बैठक बसिन्छ । करम पूजा गर्नका लागि दिन तोकिन्छ । सोही दिन देखि त्यो गाँउमा करम पूजाको रौनक आउछ । करम पूजा गर्नका लागि सबैको घरमा जमरा राखिन्छ ।
यो कार्यलाई यिनीहरु “जवा खÞोप्पना ” भन्दछन् । यो दिन करम गाड्ने व्याक्ति जसलाई यिनीहरु “ नेंग” भन्दछन् । उसले गाँउलेहरुलाई जमरा राख्ने दिनमा आफ्नो घरमा बोलाउछ । गाँउका हरेक घरबाट बालुवामय माटो ल्याउन मादल, नगरा बजाउदै र नाच्दै नदि किनार लैजान्छ । त्यहाँ माटो ल्याउनु अगाडी धरती माताको पूजा गरिन्छ । र नदि किनारको शुद्घ माटो नेंगको घरमा ल्याइन्छ । घरको आँगनमा चौका बनाइन्छ । चौकामा दियो बत्ती, धुप आदि बालिन्छ । नदि किनारबाट ल्याएको माटो चौकामा राखिन्छ । माटोमा मकै, जौं, तिल, धान आदि सात किसिमका अन्न मिसाएर जमरा राखिन्छ । ती अन्न मिसाएको माटो गाँउका हरेक घरमा । राख्नका लागि दिइन्छ । सबैले ती जमरालाई शुद्घ नयाँ माटोको भाडोमा शुद्घ ठाँउमा राख्ने गर्दछन् । दिनहु जस्तो त्यो जमरामा पानीमा बेसार मिसाएर छर्कन्छन् । यसो गर्नाले जमरा राम्रो र आर्कषक बन्छ भन्ने यिनीहरुको जनविश्वास रहेको पाईन्छ । र यिनीहरु करम पूजाको दिन यो जमरालाई लिएर अखड़ा अर्थात करम पूजा हुने ठाँउमा राख्ने गर्दछन् ।

करम पूजा उल्ला
करम पूजाको दिनलाई यिनीहरु “करम पूजा उल्ला” भन्दछन् । यस दिन यिनीहरु सबैले आफ्नो घर आँगन लिपपोत गरी सफासुग्घर गर्दछन् । यो दिन बिहानै देखि घर आँगन र अखड़ामा मादल, नगरा तथा झमटा बजाइन्छ । गीत गाईन्छ । यो दिन भाद्र पूर्णिमाको दिन भएकोले तीन तीन जना कुमार र कन्या (कुवार) केटा–केटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु र महिलाहरु अखड़ामा जम्मा हुन्छन् । गीत गाँउछन् र नाच्छन् । पुरुषहरुको टोली बाजा–गाजा सहित करम रुखको हाँगा काट्न जान्छन् । महिलाहरु टोली पनि बाजा–गाजा सहित कक्रो (गंगटो) फूल टिप्न जान्छन् । पुरुषहरुको टोलमिा उपवास भएका तीन कुमार हुन्छन् । भने महिलाहरुको टोलीमा पनि तीन जना उपवास बसेका कन्या हुन्छन् ।
यो दिन भाद्र पूर्णिमाको दिन भएकोले तीन तीन जना कुमार र कन्या (कुवार) केटा–केटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु र महिलाहरु अखड़ामा जम्मा हुन्छन् । गीत गाँउछन् र नाच्छन् ।
पुरुषहरु करम रुखको तीन वटा हाँगा काटी ती कुमार केटाहरुले ल्याउँछन् । भने केटीहरुले कक्रो पूmल ल्याउँछन् । महिला र पुरुष फेरी अखड़ामा जम्मा हुन्छन् । एकछिन नाच्छन, गाँउछन् । गीतको दोहोरी चल्छ । त्यसपछि नेग जो करम गाड्छ उसले ती तीनवटै करम हाँगालाई आफ्नो छानामा राख्छ । सबै आफ्नो इष्टमित्र, पाहुनासँग मिलेर मीठो मसिनो खान्छन् । खाना पश्चात् उनीहरु अखड़ामा जम्मा हुन्छन् । नेगले अखड़ामा करम गाड्छ । करम अगाडी दीयो र अगरवत्ती बाल्छन् । हरेक घरका आइमाईहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानीले करम बाबाको पूजा अर्चना गर्नका लागि आउछन् । नेंगले करमको पूजा अचर्ना गर्छ ।
करम बाबा को पूजा गराउने र कथा श्रवण गराउने व्याक्तिलाई यिनीहरु “अखड़ा जगउ” भनेर यिनीहरु भन्ने गरेका हुन्छन् । यो कार्य गाँउको सबैभन्दा बुढो व्याक्तिले गर्ने गरेको पाईनछ । घर घरका महिलाहरु अखड़ामा जम्मा हुन्छन । यिनीहरुको समाजमा करम पूजा सबैले एकैचोटी नै गर्ने गरेको पाउछौं । यिनीहरु करमको पूजा गर्नु अगाडी करमलाई तीन पटक घुम्छन् । करम बाबालाई यिनीहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानी चढाँउछन् । यो कार्य करम बाबाको पूजा गर्दछन् । अखड़ा रुग्र्ने बूढो पूजारीले करम पूजा र करम बाबाको महिमा बारेमा कथा श्रवण गर्छ । कथा सुन्दै महिला र पुरुष पूजा गर्छन् । बाजा–गाजा सहित करमलाई तीनपल्ट परिक्रमा गर्छन् । केटा–केटी, महिला र पुरुषसँग मिलेर रातभर बाजागाजा सहित रातभर नाच्छन् । गाउँछन् यो कार्य रातदेखि बिहान करिब १० बजे सम्म चल्छ ।
यो पूजा उनीहरु खेतपाती लगाई सकेपछि आफ्नो थकान मेटन र अन्नवाली राम्ररी उब्जीयोस् भनेर आफ्नो कर्मलाई पूजा अर्चना गर्छन् । कोही भन्छन् वन–जंगलमा सिकार खेल्दा राती करम रुखले बाघ, भालु तथा अन्य जंगली जनावरबाट जोगाएकोले यो रुखको पूजा गर्छन् ।
उराँव महिलाका लोग्ने मान्छेहरु कमाउनलाई बाहिर जाँदा उनीहरु धेरै वर्षसम्म फर्किएनन् । नफर्केपछि उनीहरुका महिलाहरुले करमको पूजा अर्चना गरेपछि उनीहरुको आफ्नो घरतिर ध्यान खुल्यो र घर फर्के ।
