सुनसरी ।

इनरुवा नगरपालिकाको साथै बालबालिकाहरुको भविष्यलाई मध्यनजर गर्दै सोमबारबाट शैक्षिक संस्थाहरुलाई नियमित रुपमा पठनपाठन गर्ने भएको छ। इनरुवाका नगर प्रमुख केदार भण्डारीले सबै विधालय सञ्चालन गर्न आग्रह सहितको सुचना जारी गर्नु भएको छ।  प्रमुख भण्डारीको आग्रहसंगै इनरुवा नगर क्षेत्रमा विधालय सञ्चालन हुने भएको हो।
तह यसैबिच इनरुवा प्रमुख भण्डारीले भाद्र २३ र २४ गतेका दिन देशव्यापी रुपमा जेनजी समूहबाट भएको प्रदर्शन /आन्दोलनको क्रममा ज्यान गुमाउनु हुने महान युवाहरुको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै उपचाररत घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ।  प्रदर्शन/आन्दोलनको क्रममा इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय परिषर भित्र रहेका सबै भवन तथा भवनभित्र रहेको धेरै विषयगत शाखा/उपशाखा/इकाइ र क्यान्टिनका साथै धेरै वडा कार्यालयका सम्पूर्ण जिन्सी सामग्री, कागजात तथा श्रेस्ताहरु पूर्ण रुपले जलेर नष्ट भएकोछ भने केहि शाखाहरुमा आंशिक रुपमा क्षति पुग्नुकाे जानकारी दिनु भएको छ।  इनरुवा नगरपालिकाभित्र पार्किङ स्थलमा रहेको सरसफाईमा प्रयोग हुने ट्याक्टर २ थान, ट्रीपर -१  थान, हलुका सवारी साधन २ थान लगायत अन्य सवारी साधनहरु तथा विधुतीय/सूचना प्रविधि सम्बन्धि सामाग्रीहरुमा आगजनी भई पूर्ण रुपले क्षती भएको जनाएको छ। नगरमा रहेको दमकल १ थान,रोलर -१ थान र पानी गाडी १ थानमा आंशिक क्षति भएको  हुँदा सेवाग्राहीलाई इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट प्रदान हुने सेवा प्रवाह गर्न नसकिने भएकोले अर्को सूचना प्रकाशन नहुन्जेलसम्मको लागि आंशिक रुपमा फोहोरमैला व्यवस्थापन गर्ने कार्य बाहेकका सम्पूर्ण सेवाहरु स्थगन गरिएको जानकारी दिनु भएको छ। 

सूचना मार्फत जानकारी गरिएको र यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्राथी रहेको भण्डारीले बताउनु भयो।