जयकृष्ण यादव। इनरुवा
इनरुवा, असोज ६ गते । सुनसरीको विभिन्न सथनमा घटस्थापनासँगै कलस यात्रा निकालिएको छ । नेपालीहरुको महान चाड बडादशैँ सुरु भएको घटस्थापनाको अवसरमा सोमबार जिल्लाको कोशी गाउँपालिका १ लौकही, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपािलका सहितको दर्जन बढी सथनमा विशाल कलश यात्रा आयोजना गरिएको छ । कलश यात्रामा पाँच सय १ देखी एक हजार १०१ कुमारी कन्याहरुको सहभागीता रहेको थियो । मधेसी तथा मैथली समुदायमा उत्साह र उमंगको रुपमा दुर्गा पुजा तथा भगवती पुजा र दसहराको नाममा मनाउने दशैको पहिलो दिन कलस राख्ने क्रममा मन्दिरहरुमा कलश यात्रा गरिएको हो । लौकहीमा हजार बढीको सहभागीतामा कलस यात्रा भएको दुर्गा पूजा मन्दिर आयोजक समितिले जनाएको छ । भजन कीर्तन र बाजागाजासाथ भक्तिमय वातावरणमा आयोजना गरिएको कलश यात्रामा हजारौँको सहभागिताले कोशीदेखी लौकहीसम्म परिक्रमा गरेको थियो । यात्रामा धर्मपरायण नरनारी, पेसाकर्मी, व्यापारी लगायत श्रद्धालुको विशाल सहभागिताले महान पर्वको गौरव र गरिमा बढाएको आयोजक समितिले जनाएको छ ।


लोकलयका भाकामा भजनकीर्तन सहित स्थानीय वेशभूषा लगाएका, झण्डा तोरण बोकेका भक्तजनको कलश यात्राले लौकहीको दुर्गा मन्दिरमा आएर विश्राम गरेको कोशी १ का वडा अध्यक्ष सोभितनारायण यादवले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम इनरुवा स्थित बबिया भगवती मन्दिर, जल्पापुर दुर्गा मन्दिर, इनरुवा २ को दुर्गा मन्दिर, इनरुवा १ को भगवती मन्दिर, गढी २ औरावनीको दुर्गा देवी मन्दिर लगायतका शक्तिपीठमा पनि सोमबार बिहानैदेखि शैलपुत्रीको पूजाअर्चना र दर्शन गर्नेको ठूलो भीड लागेको थियो । कलश यात्रा समापनपछि नवरात्रको प्रथम शक्तिस्वरूपिणी शैलपुत्रीको वैदिक परम्पराअनुसार पूजा अर्चना गरिएको छ ।