जयकृष्ण यादव। इनरुवा
इनरुवा, असोज ७ गते । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आतंकले स्थानीयहरु आतिंकत बनेका छन् । एकहप्ता यता आरक्षबाट निस्केको हात्तीले स्थानीयको घरमा तोडफोड गरेको र अन्नपात तथा बाली समेत क्षती गरेकाले स्थानीयहरु आतिंकत बनेका हुन् ।
कोशीमा बढेको जंगली हात्तीको आतंकले सोमबार मात्रै सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ जमुवाका ३० वर्षीय जितन उँराव र फुलकुमरो देवी उँरावको टिन र बासले बनेको एकतल्ले कच्ची घरमा क्षती भएको छ । जंगली हात्तीले दुई घरमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।


जितन उँरावको घरको दक्षिणतर्फको वाँसको टाटी बेरा भत्काई घर भित्र रहेको चामल ५० के.जी., आटा पिठो, र घरको क्षति सहित क्षति गरेको प्रहरी सहायक निरीक्षक अशोक कोईरालाले जानकारी दिनुभयो । त्यसैगरी फुलकुमरोदेवी उँरावको दक्षिणको घरको बाँसको टाटी वेरा भत्काएर क्षति पुर्याएको तर मानविय क्षति नभएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । यसअघि समेत कोशी २ पश्चिम कुशाहा र ४ श्रीपुरमा जंगली हात्तीको आतंकले स्थानीयहरुको बालीमा क्षती गरेको थियो ।