जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ८ गते । सुनसरीको विभिन्न स्थानमा किसानले लगाएका धान बालीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यहाँ गवारो सहितको रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । केही किसानले विषाधी छर्न थालेका छन् भने केहीले निदानका लागि परामर्श लिन थालेका छन् । प्रमुख खाध्यानबालीको रुपमा रहेको धानबाली यस वर्ष ढिलो लगाएको र त्यसमा पनि रोगकिराको प्रकोप देखिएकाले किसान चिन्तित बनेका कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो । यसरी बढ्दै गएको रोगकिरा निधान नभएको खण्डमा धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । जिल्लामा ९५ प्रतिशत किसान व्यावसायिक रुपमा धानबालीखेती गर्दै आएका छन् । यस वर्ष रोपाई सकिएको डेढ महिनाबाट धानबालीमा गवारो रोगले व्यापक क्षति गरेको यादवको कथन छ ।
आफ्नो धान बालीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएकाले विभिन्न तीन थरीको विषाधी मिसाएर स्प्रे गरेको इनरुवा ९ का किसान दसरथ साहले बताउनुभयो । त्यसैगरी इनरुवाका किसान दिपेन्द्र यादवले पनि रोगको विरुद्ध विषाधी स्प्रे गरेको बताउनुभयो ।

सुरुमा रागमार्ग उत्तरी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी तथा सीमावर्ती भेगसम्म सरेकाले किसानहरु पीडित बनेका हुन । जिल्लाको अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकिन हुन सकेको छैन । धानमा यो रोग देखा परेपछि यसको निदान किसानले आफैँ गर्दै आएको छ । कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधि छर्किन सल्लाह दिएका छन् । यहाँका किसानले बढी मात्रामा उन्तन जातका धानखेती गर्ने भएकाले यो धानबालीमा बढी मात्रामा गवारो र पात बेरुवा रोग लाग्ने गरेको किसानहरुले बताएका छन् ।
गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पु¥याउने गरेको किसानको गुनासो छ । कीराको प्रकोप तीव्ररूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसानको भनाइ छ ।
छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा÷बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको सङ्क्रमण सहजै फैलन सक्ने कृषि विज्ञको भनाइ छ ।
जिल्लामा कूल ५५ हजार हेक्टर क्षेत्रफलमा किसानले धानखेती गरेकामा पछिल्लो समय केही धानबालीमा गवारो रोग र पातबेरुवा रोग लागेको अनुमान कृषि ज्ञान केन्द्रले गरेको जनाएको छ । हाल फाट्टफुट्टरुपमा धानबालीमा ब्लास्ट रोग फेला पर्न थालेको छ ।

१, सुनसरीमा धान बालीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएकाले विभिन्न तीन थरीको विषाधी मिसाएर स्प्रे गर्दै इनरुवा ९ बबियाका किसान दसरथ साह ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा