२५ वर्षीया पत्नीको हत्या आरोपमा पति गिरफ्तार

सुनसरी
२०८२ असोज १४ गते। सुनसरीको
इटहरी उपमहानगरपालिका–१२ मा २५ वर्षीया पत्नीको हत्या आरोपमा पति गिरफ्तार भएको छ।
असोज १३ साँझ दशैंको मासु पकाउँदै गरेकी २५ वर्षीया पत्नी अनिसा भट्टराईलाई उहांका ३० वर्षीय पति सुमन दाहालले काठको बटमले प्रहार गरी हत्या गरेकाले दाहाललाई प्रहरीले गिरफ्तार गरेको छ।
राति ८ बजे टाउको, नाक र कानमा प्रहारबाट गम्भीर घाइते भएकी भट्टराईलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइए पनि राति ९:१० मा मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिनु भयो। इटहरी १२ का
पूर्व वडाध्यक्ष हिरा दाहालका अनुसार करिब दुई महिना अघि सुमनले श्रीमतीलाई हलगडामा छोडेका थिए भने अनिसाले श्रीमानलाई नभनी खनारको आइसक्रिम पार्लरमा काम गर्दै कोठा सरेकी थिइन् ।
दशैं मान्न आएका श्रीमानले सो कुरा थाहा पाएपछि झगडा भई हत्या भएको हो । घटनापछि स्थानीयले आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीका अनुसार घटनास्थल खनार प्रहरी चौकीदेखि करिब १ सय मिटर दक्षिणतर्फ पर्छ र हाल आरोपीमाथि थप अनुसन्धान भइरहेको छ ।
जयकृष्ण यादव। सुनसरी