सुनसरीको विभिन्न खोलामा बाढी सयौं घर डुवानमा

जयकृष्ण यादव। इनरुवा
इनरुवा,असोज १९ गते। देशकै सबै भन्दा ठूलो नदी सप्तकोशी सहित सुनसरीको विभिन्न नदी खोलामा बाढीले सयौं घर डुवानमा परेको छ।

सुनसरी खोलाको बाढीले जिल्ला सदरमुकाम इनरुवाको वडा नम्बर ३,४, ९ बबिया र १० जल्पापुर सहित दर्जनौं बस्ति डुवानमा परेको स्थानियले जनाएका छन्।

सुनसरी खोलाको बाढीले नै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ काे उराव टोल, सदा टोल, मुस्लिम बस्ति, यादव टोल, ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल,भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ काे बाबा पेपर मिल, विभिन्न स मिल, टपरा टोल, मुस्लिम बस्ति र वडा नम्बर ७ को दास टोल, मण्डल र यादव टोल डुवानमा परेको छ।

इनरुवा नगरपालिका १० को जल्पापुर सहित मरिया खोला किनारमा बस्ने मुस्लिम बस्ति डुवानमा परेको स्थानिय मुसतकिम मियाँले जानकारी दिनु भएको छ।
उता गडन खोलाको बाढीले जिल्लाको गढी गाउँ गाउँपालिका २ औरावनी, ५ र ६ नम्बर वडाको सतैरझोराको केही बस्ति डुवानमा परेको छ।


केहीले घर छाडेर सुरक्षित स्थान तर्फ गएको स्थानियले जानकारी दिएपनि कति विस्थापित भएको विवरण नआएको प्रहरीले जनाएको छ।

वर्षाको पानीमा डुबेर भोक्राहा नरसिंह गाउँपालिका ७ काे उपेन्द्र यादव रोहिता यादवको मृत्यु भएको स्थानीयले जनाएको छ । तर सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले यसको पुष्टि हुन बाकी रहेको प्रतिकृया दिनु भयो। प्रजिअ मिश्रले नदी खोला किनारमा बस्ने बस्ति र डुवानमा परेको स्थानियलाइ उद्धारको कार्य थालेको बताउनुभयो।

बबिया क्षेत्रमा विधुत अवरोध
दुइ दिनदेखिको अबिरल वर्षा र हावा हुरीले इनरुवा नगरपालिका वडा नम्बर ९ बबिया क्षेत्रमा २४ घण्टादेखी विधुत अवरोध भएको छ। सनिबार राती ७ बजे अबरुद्ध भएको विधुत अझसम्म सुचारु नभएको कारण स्थानिय मारमा परेको स्थानिय दिपेन्द्र यादवले जानकारी दिनुभयो। बबिया क्षेत्रमा विधुत अवरोध हुदाँ रातभरि अन्ध्यारोमा बस्नुपरेको र मोबाइल चार्ज नहुदा र नेट समेत नचलेकाले सञ्चार सेवाबाट समेत बन्चित भएका छन्। उता इनरुवा नगरपालिका वडा नम्बर १,२ र ३ को बजार क्षेत्रमा आइतबार दिनभरि विधुत अवरोध भएको छ। नेपाल विधुत प्राधिकरण इनरुवा वितरण केन्द्रले मर्मत पछि बबिया क्षेत्रमा विधुत सुचारु हुने बताउदै आएको छ।