सात सय कैदीबन्दी अझै फरार

सुनसरी
२०८२ असोज २२ गते।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते रातीको समयमा सुनसरीको रामधुनी नगरपालिका ५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सात सय जना अझै फरार रहेका छन्। यहाँ भागेको दिन देखि असोज २२ गते सम्ममा १ हजार ९२ कैदीबन्दी पुनः कारागार फर्किएका छन् ।
कारागार कार्यालयका प्रमुख जेलर सुवास लामिछानेका अनुसार ७ सय ४ जना कैदीबन्दी अझै फरार छन् । त्यसमा ५० जना भारतीय नागरिक पनि फरार सुचिमा रहेका छन् । कुल ६१ भारतीयमध्ये ११ जना मात्रै कारागार फर्किएकाे लामिछानेले जानकारी दिनुभयो ।
कारागारमा भदौ २४ गते १ हजार ७९६ जना कैदीबन्दी रहेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन बेलुका राती कारागारबाट सबै कैदीबन्दी बाहिरिएका थिए । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई असोज २० गते भित्र कारागार फर्किन र सो समयभित्र नफर्किए कानुनबमोजिमको कारबाही हुने चेतावनीसमेत दिएको थियो । तर, अझैसम्म झुम्का कारागारका ७ सय ४ कैदीबन्दी फर्किका छैनन् ।
तोकिएको समयमा नफर्किने कैदीबन्दीलाई कारागार ऐनअनुसार कारबाही हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले बताउनुभयो। उहांले फरार कैदीबन्दीको खोजीमा प्रहरी आक्रामक ढंगले अगाडि बढ्नेसमेत प्रतिकृया दिनु भयो ।
जयकृष्ण यादव। सुनसरी