मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक
अनिल श्रेष्ठ । इनरुवा
सुनसरीमा दुई हप्तायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अघि बढेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी कुमारी आचार्यका अनुसार गत असोज १० देखि फागुन २१ गतेको निर्वाचनका लागि मतदाता नामावली दर्ताको कार्य सुरु भएको हो । नयाँ दर्ता एवं अद्यावधिक कार्य दैनिक २० देखी १३० जनासम्म आउने गरेको र विहीबारसम्मा ५८३ जना मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका आचार्यले जानकारी दिनुभयो ।

सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको आचार्यले जनाकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले पहिलाको तुलनामा निर्वाचन कार्यालयमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उहाँले बताउनुभयो । कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।


वि.सं २०७९ को निर्वाचनमा सुनसरीमा पाँच लाख ४४ हजार ९८१ मतदाता थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका मतदाता पाँच लाख ५५ हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका अनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछन् । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ ।
सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढ्दै गएको समेत कार्यालयले जनाएको छ । बिहीबार मात्र १३० जनाले नाम दर्ता गराएका छन । विगतका निर्वाचनमा त्यति धेरै चासो नदेखाएका नयाँ मतदाता यस पटक आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएको पाइएको छ । मतदाता नामावलीमा नाम लेखाउन आवश्यक प्रचारप्रसार पनि कार्यालयले गरिरहेको छ । गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान स्थल १६६ वटा र मतदान केन्द्र ५९१ वटा निर्धारण गरेको थियो । यही संस्थामा अगामि निर्वाचनमा मतदान स्थल र मतादन केन्द रहने अनुमान गरिएको छ ।
