जयकृष्ण यादव । इनरुवा

इनरुवा,असोज २४ गते । सुनसरीको सीमावर्ती क्षेत्र लौकहीबाट लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको कोशी गाँउपालिका वडा नंम्बर १ लौकही बजारबाट बराहक्षेत्र नगरपालिका वडा नं.–१ का ३१ वर्षीय सनम श्रेष्ठ र कन्चनपुरको भिमदत नगरपालिका वडा नं.–६ की २० वर्षीया निरा चुनारालाइलाई पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय सुनसरी र लौकही प्रहरीको टोलीले श्रेष्ठ र चुनारालाई १४.२४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ । प्रहरी उपरीक्षक केशव थेवेका अनुसार लागू औषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले श्रेष्ठ र चुनारालाई कानून बमोजिम चेकजाँच गर्दा उनीहरु मध्ये निरा चुनाराको साथबाट १४.२४ ग्राम लागु औषध ब्राउन सुगर फेला परेको हो । उहीहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको थेवेले जनाकारी दिनुभयो ।