सुनसरीमा दैनिक दुई सयको मतदाता नामावलीमा नाम दर्ता हुदै
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २६ गते । जिल्ला निर्वाचन कार्यालय सुनसरीमा फोटो सहितको मतदना नामावलीमा नाम दर्ता आउनेहरुको भिड बढेको छ । दैनिक २०० को संख्यामा लाभग्राहीहरु आउन थालेपछि भिड बढेको सूचना अधिकारी कुमारी आचार्यले जनाकारी दिनुभयो । उहाँका अनुसार गत असोज १० देखि फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ताको कार्य सुरु भएकोमा आईतबार मात्रै दुई जनाको फोटो खिचिएको हो । सुरुमा नयाँ दर्ता एवं अद्यावधिक कार्य दैनिक २० देखी १३० जनासम्म आउने गरेकोमा आईतबारमात्रै २०० जना नयाँ मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आईतबारसम्ममा एक हजार बढी मतदाता थपिएको आचार्यले जानकारी दिनुभयो ।
सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको आचार्यले जनाकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पहिलाको तुलनामा निर्वाचन कार्यालयमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उहाँले बताउनुभयो । कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । सुनसरीमा दुई हप्तायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अघि बढेको छ ।
वि.सं २०७९ को निर्वाचनमा सुनसरीमा पाँच लाख ४४ हजार ९८१ मतदाता थिए । सुनसरीमा गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान स्थल १६६ वटा र मतदान केन्द्र ५९१ वटा निर्धारण गरेको थियो । यही संख्यामा अगामि निर्वाचनमा मतदान स्थल र मतादन केन्द रहने अनुमान गरिएको छ ।

१, जिल्ला निर्वाचन कार्यालय सुनसरीमा फोटो सहितको मतदना नामावलीमा नाम दर्ता गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
