छठका लागि बाँसबाट बनाइएको ढाकी (ढकिया), नाङ्लो, टपरी, कुनिया लगायतका सामग्री बिक्री बढ्दै
जयकृष्ण यादव
इनरुवा, कात्तिक २ गते । सुनसरीका विभिन्न स्थानमा दीपावली सुरुवात भएसंगै छठको पनि चहलपहल बढेको छ । दीपावलीको लागि आइतबार बिहानै देखि दियो, कलस र नरिबलको विक्री बढेको छ भने छठको लागि समेत बजारमा किनमेल गर्नेहरुकाे चहलपहल बढेको छ ।
सूर्यलाई अर्घ दिएर मनाइने छठपर्व नजिकिँदै जाँदा सुनसरीमा बाँसका सामग्रीको माग बढेको छ ।
सुनसरीको हरिनगर र कोशी गाउँ पालिकामा शिक्रबारे र आइतबार हाटमा दैनिक हजार बढी बाँसका सामग्रीको माग रहेको स्थानीय व्यपारी रमेश मरिकले जानकारी दिनु भयो।
छठका लागि बाँसका सामग्रीको माग बजारमा अत्यधिक बढेको अर्का कोशी गाउँपालिका १ लौकहीकी रम्भा मरिकले बताउनुभयो ।
कोशीको लौकही बजारमा अहिले दैनिक बाँसबाट बनाइएको ढाकी (ढकिया), नाङ्लो, टपरी, कुनियालगायतका सामग्री प्रति सेट ६५० देखि ८५० रुपियाँमा बिक्री भइरहेको छ भने कुनिया प्रति गोटा एक सय रुपियाँको दरले र ढाकी (ढकिया) प्रति गोटा चार सयदेखि ६ सयमा बिक्री भइरहेको मरिक बताउनुहुन्छ । वर्षभरि खासै बिक्री नहुने बाँसका सामग्रीहरु छठ पर्वको बेला भने निकै बिक्री हुने गरेको मरिकको भनाइ छ ।
मरिकका अनुसार छठका लागि माग बढेकाले लौकही, भण्टाबारी, हरिपुर,इनरुवा, बबिया, अमाहिबेलहा चिमडी, नर्सिङ भोक्राहा, दुहवी, देवानगञ्ज,हरिनगर,भुटाहा लगायतका हाटबजारमा बाँसका सामग्रीको बिक्री बढेको छ । इनरुवाको सोमबारे हाट र बिहीबारे हाटमा पनि बाँसका सामग्रीको बिक्री बढेको इनरुवा नगरपालिका–२ का रामकुमार मरिकले बताउनुभयो । इनरुवामा अरू बेला खासै बाँसको सामग्री बिक्री नहुने, तर छठ आउन करिब एक साता बाँकी छँदै हाटबजारमा यी सामग्रीको माग र बिक्री बढेको मरिकले बताउनुभयो । छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी, कुनिया सहितको सामग्रीहरू बनाउन भ्याइनभ्याइ भएको हरिनगर गाउँपालिका १ का रामदेव मरिकले जानकारी दिनुभयो।

१, बाँसको चोयाबाट ढाकी, कुनिया सहितको सामग्रीहरू बनाउनुहुदै सुनसरीको हरिनगर गाउँपालिका १ रामनगर भुटाहाका मरिक ।
