लागूऔषध नियन्त्रणमा कडाइ भण्टाबारीमा डग स्नाईपिड सहितको विशेष प्रहरी टोली सीमा क्षेत्रमा सक्रिय
देवराज यादव | सुनसरी
लागूऔषध ओसारपसार नियन्त्रण गर्न सुनसरी प्रहरीले नेपाल-भारत सीमामा ‘डग स्नाईपिड’ सहितको विशेष प्रहरी टोली परिचालन गरेको छ।
सुनसरी जिल्ला कोशी गाउँपालिका-८ भणटाबारी तीन कोनेस्थित रहेको नेपाल भारत सिमा नाकामा जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष तालिम प्राप्त कुकुरसहितको टोली तैनाथ गरेको हो।सीमा क्षेत्र हुँदै लगातार अवैध रूपमा लागूऔषध भित्रिन थालेपछि नियन्त्रणमा कडाइ गर्न यस्तो कदम चालिएको प्रहरीले बताएको छ।

‘ब्राउन सुगर, कोरेक्स, नाइट्रोजेपामजस्ता प्रतिबन्धित लागूऔषधहरू सीमापारि सजिलै कारोबार हुने र यहाँबाट ओसारपसार हुने क्रम बढेको पाइएको छ,’ इलाका प्रहरी कार्यालय भण्टाबारीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीले भने, ‘यही कारणले विषेश तालिम प्राप्त कुकुरसहितको ‘डग स्क्वाड’ परिचालन गरेका हौं।’उनका अनुसार दिउँसोदेखि औपचारिक रूपमा भण्टाबारी नाकाबाट यो अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत प्रदेशका विभिन्न सीमावर्ती नाकामा पनि निगरानी तथा चेकजाँचलाई थप कडाइ गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाले जानकारी दिए।
प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीको कमान्डमा रहेको उक्त डग स्नाईपिड टोलीमा १० जना नेपाल प्रहरी र दुई जना ट्राफिक प्रहरी जम्मा १२ जना प्रहरी टोली रहेको छन्। उनीहरूले लागूऔषध ओसारपसार हुने सम्भावित स्थानहरूमा निगरानी बढाउने र नियमित रूपमा जाँच गर्नेछन्।इलाका प्रहरी कार्यालय भन्टाबारीका प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीका अनुसार दिउँसो देखि नाकामै भारततर्फ जाने र भारतबाट आउने यात्रुहरूको ‘डग स्क्वाड’ ले सुक्ष्म जाँच सुरु गरिसकेको छ।

प्रहरीले सीमा क्षेत्रमा यसरी सक्रिय निगरानीका साथै सूचनाका आधारमा गस्ती र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ।
