शान्ति र एकताका लागि युवाहरुको भुमिका विषयक सामुदायिक संवाद
इनरुवा, कार्तिक १५ गते । सुनसरीको कोशी गाउँपालिकामा शान्ति र एकताका लागि युवाहरुको भुमिका बिषयक सामुदायिक संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरुले सुशासन, सदाचार, भौतिक पूर्वाधार विकास ,आर्थिक विकास र रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक परीवर्तन केन्द्र काठमाण्डौको आयोजनामा भएको संवादमा सहभागी युवाहरुले सो कुरामा जोड दिएका हुन् । स्वदेशमा स्वरोजगार र रोजगार सृजना गर्न सकेको खण्डमा युवाहरूले राष्ट्रलाई आत्मनिर्भर बनाउन र गरिबी घटाउन योगदान दिन सक्ने स्थानीय युवा असरफ अंसारीले बताउनुभयो ।
जेन्जी आन्दोलनपछि युवाहरुको सहभागिता हरेक क्षेत्रमा सुनिश्चित गर्नुपर्ने, निर्वाचनमा विदेशमा रोजगारका लागि रहेको नेपाली नागरिकलाई समेत मताधिकारको प्रयोग गर्न पाउने वतावरण निर्माण गर्नुपर्ने कोशी ४ का जमालुद्धिन अंसारीले बताउनुभयो । उहाँदे जेन्जी आन्दोलनका नाममा भएको क्षतीको छानविन गरेर दोषीलाई कार्वाही र जेन्जीले उठाएको भ्रष्टाचार मुक्त देशको कुरालाई सार्थक पार्ने गरी माग पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले धार्मिक आस्थाका आधारमा पनि बेलाबखत भईरहेको द्धन्द्धलाई कम गर्न सदभावका कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो ।
कोशी ४ का अर्का युवा नजामुद्धिन अांसरीले शान्ति भनेको समाजमा स्थिरता र स्थायित्व भएको र त्यसले व्यक्ति र समुदायलाई सहज, सरल र सुरक्षित महसुस गराउनुपर्ने भएकाले त्यसमा सरोकारबालाहरुले ध्यान दिनुपर्नेमा जोड दिन्भयो ।
स्थानीय आलम अंसारीले विकासले व्यक्तिगत, सामाजिक र आर्थिक प्रगति गर्दै व्यक्तिको जीवनलाई सहज, सरल, सफल र समृद्ध बनाउन मद्दत गर्ने भएकाले सोही अनुसार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले शान्ति र विकास दुबै भएको खण्डमा मात्र एक समुन्नत राष्ट्र निर्माण गर्न सकिने भएकाले सबैमा साकारात्मक भावना र सदाचार शासन व्यवस्थाका लागि पहल गर्न सदबुद्धि हुनुपर्नेमा जोड दिनुभयो ।
गाउँमा सामाजिक र धार्मिक सदभाव, एकता र सुशासन भएमात्रै सर्वागिंण विकास हुने स्थानीय मोहमद रिजवान अंसारीले बताउनुभयो । उहाँले नेपालीहरु विदेशमा समेत विभेदको सिकार भएको गुनासो गर्नुभयो । साउदी अरबमा नेपालीलाई समान काम, समान कम्पनी भएपनि अरु देशका कामदारको भन्दा ज्याला पारिश्रमिकमा ठूलो अन्तर रहेको गुनासो गर्नुभयो ।
आरिफ अंसारीले देशमा सुशासन, शान्ति र विकास गर्न स्थिर सरकार जरुरी रहेको बताउनुभयो । अर्का सहभागी खुर्सीद आलमले नेपालीहरु विदेश गएर श्रम पसिना बगाएर कमाएको पैसाको सुरक्षा नभएको र तिरेको रेमिट्यान्सको सदुपयोग नभएको भन्दै अकुत कमाउने सरकारी व्यक्तिहरुको सम्पती छानविन गरेर कार्वाही गर्नुपर्ने माग गर्नुभयो ।
स्थानीय रिजवान मंसुरीले सिचाई, कृषि मोटर र युवा स्वरोजगारका कार्यक्रम गाउँमा जरुरी रहेको बताउनुभयो ।
संवादमा सहाबुद्धिन मंसुरीले रोजगारीको अवसर र श्रम संस्कृतिको व्यवस्था नेपालमै हुनुपर्ने बताउनुभयो । अर्का सहभागी जमालुद्धिन मियाँले सीमावर्ती गाउँमा कुलतमा लाग्ने, लागुऔषध दुव्र्यसनमा फस्ने समस्या अधिक रहेकाले ठाउँठाउँमा खेलकुद मैदना र खेल सामग्रीको व्यवस्था गरी कुलतबाट बचाउन कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।
कोशी गाउँपालिका ४ पूर्व वडा अध्यक्ष अमिन नेपालीले युवाहरुको सहभाथितामा निर्वाचन पछि स्थीर सरकार आवश्यक रहेको बताउनुभयो ।

१, सुनसरीको कोशी गाउँपालिकामा आयोजना गरिएको शान्ति र एकताका लागि युवाहरुको भुमिका बिषयक सामुदायिक संवाद कार्यक्रमका सहभागीहरु ।
