अठार केजी गाजाँ बरामद
इनरुवा, कार्तिक २७ गते । सुनसरीको सीमावर्ती क्षेत्रबाट अठार केजी गाजाँ बरामद भएको छ । जिल्लाको बर्जु गाउँपालिका वडा नं.१ शुक्रबारे केशलिया पुल नजिकैबाट अठार केजी गाजाँ सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लागू औषध गाजाँ ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बर्जु गाउँपालिका वडा नं.३ का २२ वर्षीय मुकेश कुमार चौधरीलाई गाजाँ सहित पक्राउ गरेको हो । प्रहरी उपरीक्षक केशव कुमार थेवेका अनुसार खोला पुल नजिकै मोरङबाट सुनसरी तर्फ पैदल आउँदै गरेको सुनसरीको बर्जु गाउँपालिका वडा नं.३ मुकेश कुमार चौधरीले प्रहरी टोलीलाई देख्ने बितिकै पछाडि भिर्ने दुईवटा ब्याग फाली भागेकोले लखेट्ने क्रममा पक्राउ गरेको थियो । सुनसरीबाट मोरङको बिराटनगर महानगरपालिका वडा नं.५ रिङ रोड तर्फ भागेका चौधरीलाई नियन्त्रणमा लिई ब्याग खोलेर हेर्दा प्याक गरिएको अवस्थामा लागू औषध गाँजा १८.५८ के.जि.फेला परेको जनाएको छ । लागू औषध सहित चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

१, सुनसरीको बर्जुमा दुईवटा ब्यागमा फेला परेको गाजाँ ।
तस्विर सौजन्य ः जिल्ला प्रहरी कार्यालय सुनसरी
