इनरुवा, कार्तिक २९ गते । सुनसरीको धरानबाट लागू औषध ट्याब्लेट सहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले जिल्लाको धरान उप–महानगरपालिका वडा नंम्बर १७ ठकुरी पुल छेउबाट बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ का २७ वर्षीय सुनिल गिरीलाई लागू औषध ट्याब्लेट सहित पक्राउ गरेको हो । लागू औषध ओसार पसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१–०२–०४० प. ७१५८ नम्बरको मोटर साईकललाई रोकि चालक बराहक्षेत्र ४ का सुनिल गिरीलाई कानून वमोजिम चेकजाँच गर्दा उहाँको साथबाट लागू औषध ट्रामाडोल–८२ क्याप्सुल र स्पास्पेन एक हजार नौ सय नब्बे ट्याब्लेट फेला परेकोले पक्राउ गरेको जनाएको छ ।
यसैबीच लागू औषध ब्राउन सुगर सहित धरान वडा नं.१५ का २८ वर्षीय सनम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको धरान उप–महानगरपालिका वडा नं.५ कुलुङ चोकबाट विशेष सूचनाको आधारमा उहाँलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । तामाङलाई कानून वमोजिम खानतलासी गर्दा उहाँको साथबाट लागू औषध ब्राउन सुगर ३.३३ ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ ।