जयकृष्ण यादव। इनरुवा
इनरुवा, कार्तिक ३० गते । जिल्ला निर्वाचन कार्यालय सुनसरीले मतदाताको चापलाई ध्यानमा राखेर धरान उपमहानगरपालिका ११ मा थप एउटा नयाँ मतदान स्थल थप्ने सिफारिस गरेको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी बसुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले धरान उपमहानगरपालिका वडा नं. ११ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालय, न्यूरोड मतदान स्थलमा मतदाताहरुको चापलाई व्यवस्थापन गर्न वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट सिफारिस भई आए बमोजिम सोही स्थानीय तहको धरान ११ नम्बर वडामा रहेको श्री अनन्त शिक्षा आधारभूत विद्यालयमा मतदान स्थल थप्ने सिफारिस गरेको हो ।

अनन्त शिक्षा विधालयमा दुइवटा मतदान केन्द्र कायम गर्ने गरी एक हजार सात सय तीन जना आंशिक मतदातालाई सार्नका लागि सिफारिस गर्ने सर्वसम्मत निर्यण गरेको निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकले अन्य स्थानीय तहका वडामा कायम रहेका मतदान स्थललाई यथावत राख्ने र मतदान केन्द्र निर्धारण सम्बन्धी मापदण्डमा भएका अनुसूची अनुसारको विवरण तयार गरी जिल्ला निर्वाचन कार्यालय, सुनसरी मार्फत निर्वाचन आयोगमा पठाउने निर्णय गरिएको पौडेलले जानकारी दिनुभयो ।

१, जिल्ला निर्वाचन कार्यालय सुनसरीको बैठकमा सहभागीहरु । यहाँ नयाँ मतदान स्थल थप्ने सिफारिसको निणर्य गरेको छ । तस्विर ः