सुनसरीको सिमाना देखि सदरमुकाम इनरुवा जोड्ने पुरानो सडक इनरुवा कौवाखोच सडक ओझेलमा परेको भन्दै सडक निर्माण गर्न दवाव संघर्ष समिति गठन भएको छ। इनरुवा नगरपालिका १० जल्पापुर निवासी ऐयुव मियाँको
संयोजकत्वमा इनरुवा कौवाखोज सडक निर्माण दवाव संघर्ष समिति गठन भएको हो। सुनसरीको इनरुवामा भएको नागरिक तथा उपभोक्ताहरुको भेलाले समिति गठन गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सिंहदरवार, काठमाडौं, मन्त्रिलाइ इनरुवा देवानगञ्ज कौवाखोच सडक जर्जर अवस्था प्रति निरीक्षण तथा पहलकदमी लिन ध्यानाकर्षण पत्र बुझाएको छ।  संयोजक मियाँको नेतृत्वमा सयौं उपभोक्ताहरुले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत संघीय मामिला मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
जिल्लाको  सदरमुकाम इनरुवा नगरपालिकालाई जोड्ने, दक्षिण भेगको जनताको लागि लाईफ लाईन सडकको रुपमा रहेको इनरुवा कौवाखोच सडक नबन्दा जनताले धेरै दुःख पाएकोले निर्माण गर्न आग्रह गरेको छ । वर्षौदेखि यो सडक नबन्दा सदरमुकाम इनरुवा बजार नै सुकेको र सडकको दुरावस्थाले गर्दा जनता आवतजावत गर्न छाडिसकेको पत्रमा भनिएको छ। जिर्ण र धुलाम्य सडकको सुख्खामा धुलो र वर्षामा हिलोको कारणले हजारौं जनताको स्वास्थ्यमा नराम्रो असर परेको, घर आँगन धुलो नै धुलोले भरेको, दैनिक दर्जनौं दुर्घटनाहरु हुने गरेको छ ।  सडकको अत्याधिक धुलो, खाल्डाखुल्डी, असमान सतह तथा भग्नावशेषका कारण स्थानीय वासीमा मुटु, कलेजो,फोक्सो तथा स्वासप्रस्वास सम्बन्धी समस्या तिब्र रुपमा बढेको, वृद्ध,बालबालिका, विद्यार्थी तथा गर्भवती महिलाको दैनिक आवगमन जोखिमपूर्ण बनेको भनिएको छ। सडकको कारण सार्वजनिक सेवा प्रवाहमा बाधा उत्पन्न भएको अत्यन्तै संवेदनशील र दुरावस्था बनेको सामाजिक अभिन्यता दिलिप चन साहले बताउनु भयो।
अहिलेसम्म जति सरकार बनेको भएपनि पहल नभएकोले निर्माण गर्न माननीय मन्त्रीले यस इनरुवा कौवाखोच सडक निर्माणको लागि आवश्यक पहलकदमी लिनहुन विनम्र अनुरोध गर्दै  ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।

आजित जनताले सडक निर्माणको लागि आज मिति २०८२/०८/१५ गते यस सडक खण्ड अन्तर्गत इनरुवा नगरपालिका बबिया पोखरी चौकमा नागरिकहरुको आमभेलाबाट इनरुवा कौवाखोज सडक निर्माण दवाव संघर्ष समिति गठन भएको सहर्ष जानकारी गराउन चाहन्छौं । साथै संघर्ष समितिले विभिन्न संघर्षका कार्यक्रमहरु पनि शुरुवात गरेको जानकारी गराउन चाहन्छौं .

इनरुवा देवानगंज खण्डको निर्माण तथा पूर्वाधार विकासको स्पष्ट प्रतिवद्धता समय सिमा सहितको लिखित सुनिश्चितता प्रदान गरियोस् ।