स्मृतिमा श्रमिक नामक पुस्तक सार्वजनिक
“श्रम आप्रवासन चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन” नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अबसरमा स्मृतिमा श्रमिक नामक पुस्तक सार्वजनिक गरेको छ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, विराटनगरद्वारा प्रकाशित स्मृतिमा श्रमिक पुस्तकको सुनसरीको इनरुवा नगरपालिकामा मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, रामधुनी नगर प्रमुख शंकर लाल चौधरी र इनरुवा प्रमुख केदार भण्डारीले संयुक्त रुपमा बिमोचन गर्नुभएको हो।

स्मृतिमा श्रमिक पुस्तकमा आप्रवासनमा रहेका व्यक्ति तथा तिनका परिवारहरूको योगदानलाई कदर गर्दै इतिहासको रुपमा मृत्युबरण गरेकाहरूको विवरण राखिएको छ। अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने क्रममा सबै सरोकारवालाहरूलाई आप्रवासी कामदार र तिनका परिवारको हकहित संरक्षण गर्दै, उनीहरूले पुर्याएको योगदानलाई उच्च सम्मान गर्ने वातावरण निर्माण गर्नुको साथै, स्वदेशमै रोजगारको अवसर सृजना गरी बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने प्रयास, आप्रवासी श्रमिक तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक र तिनका परिवारको जीवनस्तरमा सुधार साउन सबैको सहयोग र सहकार्यको आह्वान गर्नु पनि यस दिवसको मूल भाव रहेको सामिका सुनसरी संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो।

मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले हजारौं युवाहरूले आफ्नो परिवारको भविष्य उज्यालो बनाउन, देशको अर्थतन्त्रलाई बलियो बनाउन र आफ्ना सपना पूरा गर्न वैदेशिक रोजगारी रोजेको तर, श्रीमध्ये कतिपयले रोजगारीको सिलसिलामा परदेशमै आफ्नो जीवन गुमाउनु भएकोले त्यसको अभिलेख सहित स्मृतिमा श्रमिक पुस्तकको प्रकासन गरेको बताउनु भयो।
उहाँले भन्नुभयो, “स्मृतिमा श्रमिक ती युवाहरूको सम्झनामा समर्पित छ । यसमा संकलित नामहरू केवल तथ्य मात्र होइनन्’यी प्रत्येक नाम एउटा सपना हो, एउटा परिवारको आशा हो, एउटा समाजको धड्कन हो, जसलाई देशले गुमाउनु पर्यो। प्रदेश सरकारले उनीहरूको योगदानलाई उच्च सम्मान गर्दै, उनीहरूको बलिदानलाई कहिल्यै नविर्सन प्रतिज्ञा गर्दछ। साथै, आगामी दिनमा कुनै श्रमिकले अकाल मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले यो पुस्तक सामूहिक श्रद्धाञ्जलीका रूपमा प्रस्तुत गरिएको छ ।”
