लौकहीमा सशस्त्रको गोलीले एकको मृत्यु, घटनाको विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन, दिनभर लौकहीमा तनाव
जयकृष्ण यादव। इनरुवा
इनरुवा, पुस १७ गते । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ । विहीबार विहान भएको गोली घटना पछि आक्रोषित स्थानीयहरुले लौकहीमा विहीबार विहानदेखी नै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको थियो ।

विहान १ बजे सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरीटोलमा सशस्त्रले चलाएको गोली लागेर विजय साहको मृत्यु भएको विरोधमा स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । गोली हान्ने दोषी अपराधी र सशस्त्र प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयले सडकमा साहको शव राखेर दिशभर प्रदर्शन गरिराखेकोमा त्यस घटनाको विषयमा छानविन गरी सत्य तथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको संयोजकत्वमा छानविन समिति गठन गरेर पीडिलाई न्याय दिने भएपछि अवरुद्ध सडक खुलेको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अगुवाइमा भएको सर्वपक्षीय छलफलबाट ५ बुदें सहमती जुटेकाले अवरुद्ध सडक खुलेको हो ।



प्रजिअ घिमिरे सहितको उपस्थितिमा विहीबार दिउसो भएको सर्वपक्षीय सहमतिमा सशस्त्र प्रहरी बलको गोलीका कारण मृत्यु भएका विजय साहको मृत्यु र गोली प्रहार गर्नुपर्ने कारण र परिणामका सम्बन्धमा छानविन गरी सत्य तथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहने गरी ७ (सात) दिन भित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गर्ने उल्लेख गरिएको छ । छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सुरक्षा अधिकारीको लापरवाहीको कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपुर्तीका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरी पठाउने, मृतक विजय शाहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने सहमती जुटेको हो ।
त्यसैगरी मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने र मृतक विजय शाहको शव पोष्टमार्टमको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सो पश्चात मृतक परिवारले दाहसंस्कार गर्ने गराउने सहमती जुटेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
यता दिनभरि तनाब रहेको लौकहीको पुर्व पश्चिम राजमार्ग अवरुद्ध पारेर राखेको शव उठाएको र पोष्ट मार्टम गर्न लगेकोले सडक अवरुद्ध खुलेकोछ । सुनसरी प्रशासनमा बसेको सर्वपक्षीय छलफलमा सहमति जुटेकोले विहान देखि रोकिएको सबारी साधन गन्तव्य तर्फ लागेको छ ।
घटना के भएको थियो ?
https://www.youtube.com/watch?v=QBzo39SS9Xw
बुधबार राती १२ बजेदेखी सशस्त्र प्रहरीले केही सिमा वारपार गर्नेहरुलाई लाईन दिएको रहेछ । सोही क्रममा सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा सशस्त्र प्रहरीले प्रति सिटि सफारी ओसारेको पाँच सय रुपियाँ मागेको रहेछ । त्यसमा भनाभन भएर एक्कासी सशस्त्र प्रहरीले गोली चलाएको स्थानीय राजकुमार साहले जानकारी दिनुभयो । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरी टोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले संचारकर्मीहरुलाई जानकारी गराउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डिएसपी चन्द्र बहादुर खड्काले अपरिचित समूहले राति १ बजे तिर चलाएको गोली लागेर साहको मृत्यु भएको जानकारी दिनुभयो । घटनास्थलमा गोलीको खोका फेला परेको र गोली कसले चलाएको बारेमा अनुसन्धान भइरहेको खड्काले बताउनुभयो ।
यता स्थानीयले सशस्त्र प्रहरीले मागेको नजरना वापतको पाँच सय रुपियाँ नदिएको भन्दै किन तस्करी गर्ने, भन्सार छलेर चिनि ओसार्ने भनी भनाभन भएको र त्यसपछि गोली चलाउदा साहको घाटीमा लागेर घटनास्थलमा मृत्यु भएको दाबी गरेका छन् । यता, पीडित परिवारको भनाइ उद्धृत गर्दै कोसी १ का वडा अध्यक्ष सोभितनारायण यादवले सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु भएको बताउनुभएको छ । मृतक साहले दैनिक जसो अरुको सीमापारीको समान सिटिमा भाडा लिएर ओसार्दै आउनुभएको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले दुई राउड अर्को अटोबाट गोली चलाएकाले प्रतिरक्षामा पाँच राउण्ड गोली चलाएको प्रतिकृया दिनुभयो । साहलाई लागेको गोली सशस्त्रकै भएको नभएको पोष्ट मार्टम रिर्पोटबाट एकिन हुने प्रतिकृया दिनुभयो ।



