सुनसरी
२०८२, पुस २५ गते । धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्न सुनसरी प्रशासनले अपिल जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा पुस २४ गते भएको अन्तरकृया तथा छलफल कार्यक्रम पछि धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्न अपिल गरेको हो । जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्ने विषयमा सर्वपक्षीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश र स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, धार्मिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा भएको छलफलपछि जिल्लामा शान्ति, सद्भाव र सहअस्तित्व प्रवद्र्धन गर्न चार बुँदे महत्वपूर्ण निर्णय गर्दै सदभावका लागि अपिल गरिएको छ । जिल्लामा धार्मिक तथा सम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्ने, सम्भावित द्वन्द्व तथा मतभेदको अवस्था देखिएमा आफ्ना समुदायलाई समयमै सचेत गराउँदै वैमनस्यता सृजना हुन नदिने वातावरण तयार गर्ने निर्णय गरिएको छ ।
कुनै व्यक्तिले कुनै धर्म वा समुदायको भावना कुण्ठित हुने गरी अभिव्यक्ति दिएमा वा सामाजिक सञ्जालको दुरुपयोग गरेमा त्यसलाई व्यक्तिगत कसुरका रूपमा लिई सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गरिने र त्यसलाई धार्मिक वा सम्प्रदायिक स्वरूप नदिने सहमति गरिएको छ । सो कारबाही प्रक्रियामा सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामाजिक शान्ति र सद्भाव संस्थागत रूपमा मजबुत बनाउन जिल्लास्थित सबै स्थानीय तहमा “स्थानीय शान्ति तथा सद्भाव समिति” गठन गर्ने निर्णय भएको छ । समितिमा पालिका प्रमुख, उपप्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामुदायिक, सांस्कृतिक तथा धार्मिक समुदायका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।


त्यस्तै, आवश्यक परेमा समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा समन्वय गर्दै स्थानीय स्तरमै समस्या समाधानको पहल गर्ने निर्णय पनि गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले सुनसरी जिल्लालाई शान्त, सहिष्णु र सद्भावपूर्ण समाजको नमूनाका रूपमा स्थापित गर्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । अन्तरकृर्या कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, प्रदेश सभा सदस्य रामदेव यादव, इनरुवा नगर प्रमुख केदार भण्डारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी सहितको उपस्थिती रहेको थियो ।


१,प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्ने विषयमा भएको सर्वपक्षीय अन्तरक्रियाका सरोकारबाला तथा सहभागीहरु ।