इजाजत प्राप्त गरी व्यक्तिगत रुपमा राखिएका हातहतियार बुझाउन आग्रह
जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २८ गते । जिल्ला प्रशासन कार्यालय, सुनसरीले इजाजत प्राप्त गरेर राखिएको हातहतियार आगामी माघ २१ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले एक सूचना जारी गर्दै व्यक्तिसँग रहेको इजाजत प्राप्त हातहतियार आगामी माघ २१ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचित गरेको छ ।
सूचनामा भनिएको छ,“ अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नको लागि सुनसरी जिल्लाभित्र इजाजत प्राप्त गरी व्यक्तिगत रुपमा राखिएका विभिन्न किसिमका हातहतियार खरखजना निर्वाचन कार्य सम्पन्न भए पश्चात फिर्ता हुने गरी माघ २१ गतेभित्र जिल्ला भित्रको नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा बुझाउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।”
प्रजिअ घिमिरेले सूचना अनुसार समयमा नबुझाएको खण्डमा त्यस्ता हातहतियार तथा खरखजाना नियन्त्रणमा लिई कानून बमोजिम कारबाही हुने जानकारी दिनुभयो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले सार्वजनिक सूचनामार्फत उक्त आग्रह गरेको जानकारी दिनुभयो । कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ ।

१, जिल्ला प्रशासन कार्यालयले जारी रहेको सूचना ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
