जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ४ गते । सुनसरीको धरानबाट लागू औषध ब्राउन सुगर बरामद भएको छ । धरान वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी विजयपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर बरामद गरेको हो । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. घर भई जिल्लाको धरान उप–महानगरपालिका वडा नं.१३ फुस्रे स्थित श्याम गुप्ताको घरमा डेरा गरी बस्ने २८ वर्षीय रोमन भुजेलको कोठामा लागू औषध ब्राउन सुगर बरामद गरेको जनाएको छ । भुजेलको कोठाबाट लागू औषध ब्राउन सुगर १.३९ ग्राम (एक ग्राम तीन सय नब्बे मिलिग्राम) फेला परेकाले उक्त लागू औषध सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । भुजेल माथि थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।
एता धरान उप–महानगरपालिका वडा नं.९ बगैचालाइनबाट प्रहरी टोलीले २८ वर्षीय राज कुमार राईको कोठाबाट लागू औषध बरामद गरेको छ । कोठामा खानतलासी गर्दा राईको कोठाबाट लागू औषध ट्रामाडोल २६० क्याप्सुल र स्पास्पेन २६० ट्याब्लेट फेला परेको जनाएको छ । लागू औषध सहित राज कुमार राई र सो कारोबारमा संलग्न धारन ११ का २५ वर्षीय अभय थापा मगर र धरान १० का १७ वर्षीय सौरभ राजधामीलाई समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।